विगतमा सरकारले गरेको आयात रोक्का र राष्ट्र बैंकले जारी गरेको कसिलो मौद्रिक नीतिका कारण अर्थतन्त्र शिथिल अवस्थामा पुगेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । विदेशी विनिमय सञ्चिति दबाबमा रहेको भन्दै सरकारले १० वटा वस्तुको आयातमा प्रतिबन्धलगाएको बेला कसिलो मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बजारमा कम मुद्रा आपूर्ति गरेकाले आन्तरिक अर्थतन्त्र मन्दीमा गएको आरोप अर्थमन्त्री महतले लगाएका हुन् ।
आगामी वर्षको बजेट वक्तव्य सम्बन्धमा छलफल गर्न मंगलबार संसदको अर्थ समितिले डाकेको बैठकमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
यद्यपि पछिल्ला महिनामा बाह्य सूचकहरुमा सुधार आइरहेकाले आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत देखिन थालेको उनको दाबी थियो । ‘अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिमार्फत विशेष नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह गरिरहेका छौं,’ उनले भने, ‘यही कारण तेस्रो अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले केही नीतिगत व्यवस्था पनि गरेको छ । आगामी मौद्रिक नीतिमार्फत पनि सुधारका थप काम गर्न राष्ट्र बैंकलाई भनिरहेका छौं ।’
लक्षित रुपमा राजस्व संकलन नहुँदा र चालु खर्च नियन्त्रण तथा पुँजीगत खर्च वृद्धि गर्न नसक्दा सरकारलाई स्रोत व्यवस्थापन गर्न समस्या परेको बताए । ‘चालु खर्चको वृद्धि राजस्व असुलीको दरभन्दा बढी रहेको र बर्सेनि १० खर्ब भन्दा बढी अनिवार्य दायित्त्वमा खर्च हुने गरेकाले आन्तरिक स्रोतले चालु खर्च धान्न धौधौ परिरहेको छ,’ उनले भने, ‘पेन्सन, सामाजिक सुरक्षा, निजामती/शिक्षक/सुरक्षाकर्मी/स्वास्थ्यकर्मीको तलब लगायतमा बर्सेनि दायित्व रकम बढ्दै गएकाले सोका लागि स्रोत व्यवस्थापन जटिल चुनौती रहेको छ ।’ यद्यपि चालु खर्चमा मितव्ययिता कायम गर्न र पुँजीगच खर्चलाई पुन: प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गरिएको दाबी उनको छ ।