News in Nepali

नयाँ एक्सन फिल्म ल्याउँदै ‘प्रेमगीत’ निर्माता, निजगढमा टिजर छायांकन

Lumbinikhabar Online

फिल्म निर्माण कम्पनी आशुसेन फिल्म्स ‘प्रेमगीत ३’ पछि कुन प्रोजेक्टबाट पुनरागमन गर्दैछ भन्ने कुरा जान्नका लागि नयाँ खबर छ । यो सरप्राइजले फ्यानलाई पक्कै पनि उत्साह दिलाउन सक्छ । आगामी साता यो नयाँ फिल्मको टिजर सार्वजनिक हुँदैछ । तर फिल्मको शीर्षक भने तय भइसकेको छैन ।

गत साता बाराको निजगढमा टिजर छायांकन समेत भएको छ । निर्माताले टिजरसँगै फिल्म घोषणाको तयारी गरिरहेका छन् । सामाजिक सञ्जालमा फ्यानले टिजर छायांकनका केही दृश्य पनि सार्वजनिक गरेका छन् । जसअनुसार यो फिल्म पक्कै पनि एक्सनप्रधान हुन सक्छ । टिजरमा कलाकारलाई ‘एक्सपोज’ त गरिएको छैन तर प्रदीप खड्का यो फिल्ममा नहुने सम्भावना रहेको निकट स्रोतले जनाएका छन् ।

निजगढको सडकमा खिचिएको यो एक्सन दृश्यले दर्शकलाई रोमाञ्चक तुल्याउन सक्छ । ‘प्रेमगीत ३’ निर्देशक समेत रहेका सन्तोष सेनले यो फिल्मलाई निर्देशन गर्दैछन् । फिल्ममा सेन र अभिनेता प्रेम पुरीको लगानी हुने जनाइएको छ । भारतीय निर्माता पनि यो फिल्ममा जोडिने सम्भावना छ ।

एक महिनापछि छायांकन हुने तयारीमा रहेको यो फिल्मको टिजर छायांकन जुन २१ मा सम्पन्न भएको थियो । एक मिनेटको लम्बाइ रहने टिजर आइतबार वा सोमबार सार्वजनिक गर्ने तयारी छ । ‘टिजर एक्सनप्रधान हुनेछ,’ स्रोतले भन्यो, ‘पक्कै पनि टिजरले फिल्मबारे धेरै कुरा खुलासा गर्नेछ ।’

Tags

छुटाउनु भयो कि ?