News in Nepali

महिला फिल्मकर्मीको मर्यादित रोजगारीका लागि नीति ल्याउनुपर्नेमा जोड

Lumbinikhabar Online

नेपाली फिल्ममा कार्यरत महिला श्रमिकको लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रसंघीय महिला नियोग (यूएन वुमन)ले मर्यादित रोजगारी सिर्जना तथा दिगो विकासका लागि नीति विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमले आईएलओ र सरकारसँग मिलेर नीति निर्माण गर्नुपर्ने समेत निष्कर्ष निकालेको छ ।

राष्ट्रिय योजना आयोगको सहकार्यमा मेरिएट होटलमा आयोजित समारोहमा फिल्म क्षेत्रमा कार्यरत महिलाको अवस्था अध्ययन गरेर तयार पारिएको कार्यपत्र प्रस्तुत गरिएको थियो । जसमा नेपाली फिल्ममा महिलाको वर्तमान अवस्था, पेशा र श्रमको उचित मूल्य, रोजगारीको सुनिश्चितताबारे छलफल गरिएको थियो ।

महिलालाई पेशाको मर्यादाबारे सजग तुल्याउँदै दिगो रोजगारी सिर्जनाका लागि सरकारले तत्काल नीति निर्माण गर्नुपर्ने संवादको निष्कर्ष रहेको आईएलओ नेपालकी प्रतिनिधि कृपा बस्नेतले बताइन् । कार्यक्रममा फिल्म क्षेत्रका विभिन्न व्यक्ति र संघसंस्थाले सुझाव पेश गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयाल र सदस्य सचिव तोयनारायण ज्ञवालीले महिला फिल्मकर्मीको अवस्थालाई बुझेर दिगो मर्यादित पेशाका लागि कार्यक्रम बनाउन सकिने बताए । कार्यक्रममा अभिनेत्री वसुन्धरा भुसाल, कलाकार तथा नृत्य निर्देशक पवित्रा आचार्यलगायतले फिल्म क्षेत्रमा काम गराइको अनुभव बाँडेका थिए ।

फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठक, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीलगायतले प्रतिवेदनमा केही गलत तथ्यांक र जानकारी रहेको भन्दै सच्याउन सुझाव दिए । फिल्म नीति निर्माण नगर्दा फिल्म उद्योगमा दिगो राजगारी सुनिश्चितता नभएको अध्यक्ष बलामीले बताए ।
कार्यक्रममा आईएलओका नेपाल निर्देशक नुमान ओज्कानको पनि उपस्थिति थियो । महिला बालबालिका मन्त्रालय, श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति, पर्यटन मन्त्रालय, राष्ट्रिय तथ्यांक विभाग, अर्थ मन्त्रालय, युनेस्को, प्लान इन्टरनेसनल, निर्देशक समाज, नृत्य संघका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

Tags

छुटाउनु भयो कि ?