News in Nepali

खराब ब्याटिङ गरेको नेपालले कतारलाई दियो १५८ रनको लक्ष्य

Lumbinikhabar Online

एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह ‘ए’ को अन्तिम खेलमा कतारलाई १५८ रनको लक्ष्य दिएको छ।

सुरुवातमा खराब ब्याटिङ गरेको नेपाल ४०.२ ओभरमा १५७ रनमा अलआउट भयो।

नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा बढी नटआउट ४२ रन जोडे। उनले ५८ बलमा ६ चौका प्रहार गरे।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो।

ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा पेभिलियन फर्के।

ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट हुँदा नेपाल दबाबमा पर्‍यो। त्यसपछि कप्तान रोहितकुमार पौडेल चौथो विकेटको रुपमा २७ रन बनाएर आउट भए। उनले ३६ बलमा २ चौका प्रहार गरे।

कुशल मल्ल पाँचौ विकेटको रुपमा १७.१ ओभरमा आउट भए। उनले ३ रन मात्र जोड्न सके। सोमपाल कामी ११ रनमा आउट भए। उनी आउट हुँदा नेपालले २१ ओभरमा ६ विकेट गुमाउँदा ८४ रन जोडेको स्थिति थियो।

सातौं विकेटको रुपमा आरिफ शेख ११ रनमा आउट भए। उनी २६.२ ओभरमा आउट हुँदा नेपालले १०२ रन जोडेको स्थिति थियो। चार बलपछि दीपेन्द्रसिंह ऐरी आउट भए। ऐरीले १२ रन मात्र जोड्न सके। २८औं ओभरमा गुल्शन झालाई ७ रनमा कतारका मुनवीराले बाउन्ड्रीमा उष्कृष्ट क्याच गर्दै पेभेलियनको बाटो देखाए।

ललितनारायण राजवंशी १ रनमा एलबिडब्लू आउट भए। सन्दीप र ललितबीच अन्तिम विकेटका लागि ४६ रनको साझेदारी भएको थियो। २८ ओभरमा नवौं विकेट गुमाएपछि ललित अन्तिम विकेटको रुपमा ४०.३ ओभरमा आउट भए।

बलिङमा कतारका अमिर फारुकले ४ विकेट लिए। ओइस अहमेदले ३ विकेट र मुनवीराले २ विकेट हात पारे।

यसअघि नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। नेपाल र साउदी अरेबियाबीचको मुलपानी मैदानमा तय भएको तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो। रद्द भएर एक अंक जोडेसँगै नेपाल सेमिफाइनलमा पुगेको थियो।

यो समूहबाट नेपालबाहेकका अरु खेलमा जित निकालेको ओमान ६ अंक जोडेर सेमिफाइनलमा पुगिसकेको छ। ५ अंक जोडेको नेपालले पनि सेमिफाइनलमा स्थान पक्का गरेको अवस्था छ।

आजको खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ। समूह विजेता भएको अवस्था नेपालले सेमिफाइनल खेल शनिबार कीर्तिपुर मैदानमा खेल्नेछ। आजको खेलमा पराजित भए नेपाल समूह उपविजेता हुनेछ। उपविजेता भए नेपालको खेल मुलपानीमा हुने तय छ।

समूह ‘बी’ बाट युएई अन्तिम चारमा पुगेको छ। आज हङकङ र कुवेतबीचको खेलपछि अन्तिम चारमा पुग्ने अर्को टिम र समूह विजेता र उपविजेतको टुंगो लाग्नेछ।

Tags

छुटाउनु भयो कि ?