News in Nepali

कोरोना संक्रमण बढेसँगै काभ्रेका होटलहरूमा जनस्वास्थ्य सम्पर्क व्यक्ति राखिने

Lumbinikhabar Online

पछिल्लो केही समययता काभ्रेमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काभ्रेका होटल व्यवसायीहरूले स्वास्थ्य सुरक्षाका मापदण्डको पालनालाई प्राथमिकतामा राख्दै काभ्रेका सबै होटलहरूमा जनस्वास्थ्य सम्पर्क व्यक्ति राखिने तयारी भएको छ ।

जिल्ला कोभिड अनुगमन समिति, क्षेत्रीय होटल व्यवसायी संघ काभ्रे र उद्योग वाणिज्य संघ काभ्रेको आयोजनामा बुधबार काभ्रेमा सुरक्षित होटल/व्यवसाय अभियान कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा कोरोना संक्रमणको प्रभाव होटल तथा पर्यटन व्यवसायमा पर्न नदिनुका साथै व्यवसायलाई सुरक्षित बनाउनका लागि छलफल भएको भएको थियो । उक्त कार्यक्रमको समन्वय जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले गरेको थियो ।
विगत्‌का समयमा पनि होटल व्यवसायीले कोरोनाको समय सुरुअघि स्वास्थ्य सुरक्षा मापदण्डलाई प्राथमिकतामा राखिएको क्षेत्रीय होटल व्यवसायी संघ काभ्रेका अध्यक्ष प्रेमकण्ठ माकाजु श्रेष्ठले बताए । उनका अनुसार होटल व्यवसायलाई सुरक्षित बनाउनुका साथै पर्यटक तथा ग्राहकहरूलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष प्राथमिकतामा राखिएको छ । ‘अहिले पनि कोरोना संक्रमणको दर बढ्दै गएकाले यस पटक पनि पूर्वतयारी गरिएको छ,’ उनले भने, ‘स्वास्थ्य सुरक्षाका मापदण्डलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेका छौं ।’ जनस्वास्थ्य सम्पर्क व्यक्ति होटलमा राख्न आफू तयार भएको उनले बताए ।

काभ्रेका होटल व्यवसायलाई विपद्बाट कसरी मुक्त बनाउने भनेर विपद् व्यवस्थापन समिति बनाइएको क्षेत्रीय होटल व्यवसाय संघका उपाध्यक्ष प्रल्हाद प्याकुरेलले बताए । उनका अनुसार आफ्नो व्यावसायिक योजनामा प्रत्येक होटलहरूले महामारीबाट बच्नका लागि पूर्वतयारी स्वरुप खाका तयार गर्नुपर्छ । जसअर्न्तगत काभ्रेका चारवटा होटलहरूले खाका तयार गरिसकेको उनले जानकारी दिए ।

 

Tags

छुटाउनु भयो कि ?