News in Nepali

पालिकाले रोजेका कर्मचारी मात्रै पठाउने हो भने ५१ हजार कहाँ जान्छन् ?’

Lumbinikhabar Online

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय सरकारसँग प्रदेश र स्थानीय सरकारको दोहोरो समन्वय हुन आवश्यक रहेको बताएका छन् ।

बुधबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलनमा बोल्दै तीन तहका सरकारसँग समन्वयकारी भूमिका खेल्न दोहोरो समन्वय हुनुपर्ने बताएका छन् । प्रदेश र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन केन्द्र सरकारसँग दोहोरो समन्वय बनाउन आवश्यक रहेको उनले बताए ।

मुलुकमा ५३ हजार कर्मचारीको दरबन्दी भए पनि २ हजार मात्रै कर्मचारी स्थानीय तहको रोजाइमा पर्ने गरेको भन्दै उनले ७५३ स्थानीय तह रहेकामा ५१ हजार कर्मचारीलाई कहाँ पठाउने ? भन्दै प्रश्न उठाएका थिए । यसका लागि मन्त्रालयमा दैनिक हजारभन्दा बढीको भीड लाग्ने गरेको उनले बताएका थिए ।

मन्त्री मोदीले भनेका छन्, ‘मन्त्रालयमा नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्षहरु आउनुहुन्छ । पालिकामा कार्यकारी प्रमुख पठाइदिन आग्रह गर्नुहुन्छ । मैले पठाइदिन्छु । पठाएको भोलिपल्ट एउटा ग्रुप आउँछ त्यो हुँदैन । त्यसलाई तुरुन्त हटाइदेउ भन्नुहुन्छ । फेरि अर्को ग्रुप त्यसलाई राख्नैपर्छ भनेर आउने गर्छन् । मन्त्रालयमा दैनिक रुपमा हजार जनाको भीड आफूले रोजेको कर्मचारीको लागि हुने गरेको छ ।

सबै रोजेको कर्मचारी ७५३ स्थानीय तहमा पठाउन थालियो भने देशमा अधिकृत २४ सय, उपसचिव ९ सय र सहसचिव ४ सय जना रहेका छन् । अनि केन्द्र सरकारले ५३ हजार कर्मचारीको दरबन्दी छ । २ हजार कर्मचारी मात्रै मन परेको खोज्ने हो भने बाँकी ५१ हजार कर्मचारी कहाँ जान्छन् ।

५१ हजार कर्मचारीलाई लगेर गाउँमा हलो जोताउनु भएन ! कुनै न कुनै स्थानमा पठाउनु नै पर्छ । मन नपर्ने खोजेको कर्मचारी पठाउँदा स्थानीय तहहरुले हाजिर लगाउन नमान्ने गर्नुहुन्छ । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय हुनुपर्छ । केन्द्र सरकारसँग प्रदेश र स्थानीय सरकारसँग दोहोरो समन्वय हुनुपर्छ ।’

Tags

छुटाउनु भयो कि ?