News in Nepali

प्रधानमन्त्रीको अकर्मण्यताले संसद्‍माथि प्रश्न उठ्यो : एमाले सांसद पन्त

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहाल र माओवादी केन्द्रको संसद्‌प्रतिको दृष्टिकोणले गर्दा सांसदहरूमाथि प्रश्न उठेको त होइन भनेर प्रमुख प्रतिपक्षी दल एमालेका सांसद रघुजी पन्तले प्रश्न उठाएका छन् । संसद्लाई सरकार र प्रधानमन्त्रीले महत्त्व नदिएको पन्तको भनाइ थियो ।

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमा समय लिएर बोल्दै सांसद पन्तले संसद्‌माथि प्रश्न उठाउने वातावरण नबनाउन सरकारलाई आग्रह गरेका छन् । ‘यो सरकारका मन्त्री, प्रधानमन्त्रीले संसद्लाई कति महत्त्व दिएका छन् भन्ने प्रश्न उठेको छ । प्रधानमन्त्री माओवादीको हुनुहुन्छ । माओवादीको राजनीतिक दस्तावेज पढ्दा नस्विकारेकाले संसद्को मर्यादा, गरिमा बढाउन उहाँहरूले चासो नदिएको त होइन ?,’ उनले भने ।

तीन महिना हुँदा पनि संसद्लाई सरकारले बिजनेस नदिएको भन्दै सांसद पन्तले प्रश्न उठाएका हुन् । ‘हाम्रो बारेमा प्रश्न उठाइएको छ । सरकारले गर्दा संसद्‌माथि प्रश्न उठ्यो । सरकारको अदूरदर्शिताले गर्दा संसद्‌माथि प्रश्न उठ्यो,’ उनले भने, ‘हामीले नगरेको गल्तीको अवगाल पाउनुभएन । संसद्लाई प्रभावकारी, गतिशील बनाउने यसका नियमावली समयमा पारित गरेर हो, विधेयक पारित गरेर हो ।’

पन्तले सभामुखबाट संसद्लाई प्रभावकारी बनाउने सन्दर्भमा रुलिङको माग गरेका थिए । प्रधानन्त्री संसद्‌मा उपस्थित भए पनि विधेयक प्रस्तुत नगर्ने, कार्यसूचीमा राखिएका विधेयक कार्यसूचीबाट हटाउन लगाउनेलगायत विषयले संसद्प्रति अविश्वास बढाउने काम भइरहेको पन्तको भनाइ थियो ।

Tags

छुटाउनु भयो कि ?