News in Nepali

सत्ताकाे छिनाझपटीले प्रचण्ड-बाबुराम एकता लम्बियो

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता सत्ताको छिनाझपटीले लम्बिँदै गएको छ । सङ्घीय सरकारदेखि प्रदेश सरकारमा फेरबदल आएपछि माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता पर धकेलिएको हो ।

माओवादीले प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वमा र नेसपाले गंगानारायण श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनाएको थियो । दुवै वार्ता टोलीले पार्टी एकता गर्ने समझादारी गरी सकेका छन् । पार्टीको नाम र चुनाव चिन्ह लगायत महत्त्वपूर्ण निर्णय प्रचण्ड बाबुरामले टुङ्गो लगाउने भन्दै छोडिएको थियो ।

प्रचण्ड १० दलीय गठबन्धनबाट प्रधानमन्त्री भएपछि बाबुराम भट्टराई नेतृत्वको नेसपासंग एकता गर्न ढिलाई भइरहेको छ । माघ महिनाभित्र प्रचण्ड बाबुराम नेतृत्वको पार्टी एकता भइसक्ने उद्घोष गरिएको थियो ।

सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति लगायत मुख्य राजकीय पदको निर्वाचन गर्नुपर्ने भएकाले पर धकेलिएको नेताहरूले बताएका छन् । पार्टी एकता गर्न बाबुरामले हतार गरे पनि प्रचण्डले सत्तालाई देखाएर पर धकेलिरहेका छन् ।

तर, माओवादी प्रवक्ता एवम् वार्ता टोलीका संयोजक महराले संवाद जारी रहेको बताए । ‘बाबुराम जी सहित अरू पार्टीसँग एकता गर्न संवाद जारी राखेका छौँ । अहिले पनि बाबुरामसँग कुराकानी भई राखेको छ’ महराले भने, ‘अब बाबुरामसहित अरू पार्टीसँग पार्टी एकता छिट्टै हुन्छ ।’

यस्तै महरा नेतृत्वको वार्ता टोलीले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपासँग समेत संवाद अघि बढाएका छन् । पार्टी महासचिव बनाउने गरी महराले विप्लवसँग संवाद अघि बढाए पनि विप्लव भने सकारात्मक देखिएका छैनन् ।

उता प्रधानमन्त्री प्रचण्डले भने जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायत कम्युनिस्ट समाजवादी पार्टीसँग एकता गरेर समाजवादी केन्द्र बनाउने तयारी गरेका छन् । आफूसँग समेट्न सक्ने माओवादी धारलाई एक बनाएर समाजवादी केन्द्र निर्माणपछि शक्तिमा पुग्ने प्रचण्डको रणनीति छ ।

Tags

छुटाउनु भयो कि ?