News in Nepali

स्थानीय तहमा धमाधम आफ्नै पाठ्यक्रम

Lumbinikhabar Online

कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरिसकेको राइनास नगरपालिका अहिले दोस्रो चरणको स्थानीय पाठ्यक्रम निर्माणको चरणमा छ ।

उसले आगामी शैक्षिक सत्रदेखि लागू गर्ने गरी कक्षा ६, ७ र ८ को स्थानीय पाठ्यक्रम निर्माण गरिरहेको छ । यसको मस्यौदा तयार पारेर सरोकारवालाबीच लैजाने तयारी भइरहेको प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए । उनका अनुसार प्राप्त सुझाव सल्लाहका आधारमा सबै प्रक्रिया पूरा गरेर पाठ्यक्रमको अन्तिम रुप दिइनेछ ।

नगर प्रमुख खड्गबहादुर गुरुङले विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार गरिएको स्थानीय पाठ्यक्रमले राइनास नगरपालिका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने दाबी गरे ।

बेंसीसहर नगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । नगरपालिका भित्रका आधारभूत विद्यालयमा आगामी शैक्षिक सत्रदेखि उक्त पाठ्यक्रम लागू गर्ने गरी पाठ्यक्रम तयार पारिएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।

उनका अनुसार बेंसीसहरका विद्यालयमा कक्षा १ देखि ८ सम्म आमागी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागू गरिनेछ । पाठ्यक्रम निर्माणकार्य सकिएसँगै बेंसीसहरमा सामुदायिक तथा संस्थागत विद्यालयमा आधारभूत तहमा स्थानीय पाठ्यक्रम पठाइसकिएको उनले बताए ।

 

Tags

छुटाउनु भयो कि ?