News in Nepali

बिहीबार पाँच महिनायताकै बढी कोरोना संक्रमित, उपत्यकाकै ९ जना

Lumbinikhabar Online

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (बिहीबार) जारी गरेको तथ्यांकमा १७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको देखिएको छ। जुन पछिल्लो पाँच महिनायताकै बढी संक्रमित संख्या हो।

गत कात्तिक ७ गते ४२ जनामा संक्रमण पुष्टि भएयता संक्रमितको संख्या निरन्तर घटेको थियो। तर हिजो भने एक्कासि १७ जनामा संक्रमण देखिएको हो।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो भेटिएका १७ जना संक्रमितमध्ये ९ जना काठमाडौं उपत्यकाका रहेका छन्। बाँकी भने खोटाङ र तनहुँका दुई/दुई जना र तनहुँ, गुल्मी र बाराका एक/एक जना छन्।

तर हिजो भेटिएका १७ जना संक्रमितको व्यक्तिगत विवरणबारे जानकारी नभएकाले संक्रमण कहाँबाट कसरी फैलियो भनेर यकिन नभइसकेको महाशाखाका प्रमुख डाक्टर चुमनलाल दास बताउँछन्। यद्यपि पछिल्लो सातादेखि छिमेकी भारतमा संक्रमण बढेका कारण नेपालमा पनि संक्रमण बढ्न थालेको उनको भनाइ छ।

‘हिजो पुष्टि भएका १७ जनाको एक/एक गरी केस हेरिसकिएको छैन तर गत सातादेखि भारतमा संक्रमण बढेकाले नेपालमा पनि संक्रमण बढिरहेको हुनसक्छ। अस्तिको दिन मात्र धनगढीको त्रिनगर सीमामा एकैपटक सात जनामा संक्रमण पुष्टि भएको थियो,’ उनले भने।

प्रमुख दासले केही दिनयता भारतमा संक्रमण बढ्न थालेपछि सीमामा कडाइ र निगरानी बढाउन निर्देशन समेत दिइएको जनाए।

उनले अहिले भारतसँग सीमा जोडिएका १४ वटा नाकामा हेल्थ डेस्क सञ्चालनमा रहेको उल्लेख गर्दै नाका भएर भित्रिने व्यक्तिहरूमा लक्षण देखिए परीक्षण गर्ने व्यवस्था रहेको बताए।

तर मानिसरहरू अन्य प्रवेश विन्दु भएर पनि भित्रिने गर्दा त्यसले संक्रमण नियन्त्रणमा जोखिम उल्लेख गर्दै दासले भने, ‘भारतमा बढेपछि नेपालमा पनि बढ्ने गर्छ। त्यसैले सीमामा कडाइ गर्न भनेका छौं। लक्षण भएका बिरामीहरूको परीक्षण गर्ने व्यवस्था गरिएको छ तर सबै मानिसहरू एउटै सीमा भएर छिर्दैनन्। यसको निगरानी बढाउनुपर्छ।’

साथै संक्रमणको जोखिम थप बढ्नसक्ने उल्लेख गर्दै जनस्वास्थ्यको मापदण्ड अपाउनुपर्ने प्रमुख दासको सुझाव छ।
यसका साथै अहिले पनि बुस्टर डोज खोप लगाउने कार्य भइरहेको हुँदा प्राथमिकतामा रहेका व्यक्तिहरूलाई अनिवार्य खोप लगाउन उनको आग्रह छ।

Tags

छुटाउनु भयो कि ?