News in Nepali

प्रधानमन्त्री प्रचण्डले गरे मतदान

Lumbinikhabar Online

उपराष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्। नयाँ बानेश्वरको संसद् भवनस्थित ल्होत्से हलमा बिहान १० बजेबाट सुरु भएको मतदानमा अहिलेसम्म ६ सय १० मत खसेको छ।

जसमा संघीय संसद् मतदान केन्द्रमा दुई सय १८ र प्रदेश सभा मतदान केन्द्रमा तीन सय ९२ मत खसेको हो। मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। रामसहायप्रसाद यादव अष्टलक्ष्मी शाक्य र ममता झा उपराष्ट्रपतिको दौडमा छन्।

मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन्।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन सय ३२ र प्रदेश सभाका पाँच सय ५० मतदाता छन्। संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार कायम गरिएको छ। निर्वाचनमा ५२ हजार ६ सय २८ मतभार कायम छ।

Tags

छुटाउनु भयो कि ?