क्लबको सदस्य छानेजस्तो गरी केन्द्रीय सदस्य चयन गर्ने पार्टीले ‘डिजिटल डेमोक्रेसी’को वकालत गर्न सुहाउँछ ? टीका नै लगाएर पार्टी चलाउने हो रवि दाइ ?’ झापा–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका प्रकाश पाठकले पार्टी सभापति रवि लामिछानेमाथि उठाएको प्रश्न हो यो ।
रास्वपाले सोमबार १६ जना केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णयमाथि कार्यकर्ता तहबाट उठेको यो प्रतिनिधि प्रश्न हो । पार्टी दर्ता गर्दा २१ सदस्यीय केन्द्रीय समिति बनाएको रास्वपाले केही महिनाअघि ३ जना सदस्य थपेको थियो । सोमबार रास्वपाले १६ जना थपेर केन्द्रीय समितिलाई ४० सदस्यीय बनाएको छ ।
केन्द्रीय सदस्य मनोयनको विधि र छनोटप्रति रास्वपामा विवाद देखिएको छ । पार्टीभित्र फेस भ्यालु भएका नेताहरूलाई केन्द्रीय समितिमा नल्याएर सामाजिक सञ्जालमा भाइरल भएकाहरूलाई जिम्मेवारी दिएको सभापति लामिछानेमाथि आरोप छ ।
रास्वपाले सोमबार निशा मेहता, विन्दवासिनी कंशाकार, रूपा शङ्कर, विजय जैरू, मेघ आले, मोहनबहादुर थापा, स्वसरकार श्रेष्ठ, टीका सङ्ग्रौला (ज्वाला), हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, कान्तिशिखा धिताल, प्रतिभा रावल र गीमा क्षेत्रीलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो ।
रास्वपाका चर्चित अनुहार विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, शिशिर खनाल, मनिस झा, सन्तोष परियारलगायत केन्द्रीय सदस्यमा मनोनीत हुने आशामा थिए । उपनेता श्रेष्ठले भने, ‘राजनीतिक परिपक्वता हेरेर केन्द्रीय सदस्य मनोनीत गरिनुपर्थ्यो । त्यस्तो भएको देखिएन । हामीले पनि सञ्चारमाध्यमबाट नै केन्द्रीय सदस्य मनोनीत भएको थाहा पाएको हो ।’ उनका अनुसार को केन्द्रीय सदस्य भयो, को भएन भन्दा पनि कुन प्रक्रियाबाट निर्णय भएको भन्ने हो ।
‘हामी नागरिकबाट अनुमोदित भएर राष्ट्रिय पार्टी बन्यो । संसद्को चौथो ठूलो दल बन्यौँ । हामी पार्टीको प्रकृति निर्माणको क्रममा छौँ,’ उनी भन्छन्, ‘हामीले पार्टीको नेचर देखाउन सकिरहेका छैनौँ । यो असन्तुष्टि मात्र होइन, परिणामको कुरा पनि हुन्छ ।’ रास्वपामा समावेशितालाई पनि अहिले प्राथमिकतामा नदिएको देखिन्छ । रास्वपामा ४० जनामध्ये मधेसी र दलित समुदायबाट केन्द्रीय सदस्यमा उपस्थिति न्यून छ । मधेसी समुदायबाट डा. राकेश यादव र निशा मेहता छन् भने दलितबाट सविना विक मात्र केन्द्रीय सदस्य छन् ।
यस्तै केन्द्रीय सदस्य मनोनीत गर्दा मधेस र काठमाडौँ उपत्यकालाई पार्टी नेतृत्व बेवस्ता गरेको रास्वपामा असन्तुष्टि छ । ‘काठमाडौँ उपत्यकामा पार्टीले ५ जना सांसद पाएको छ । यहाँको नम्बर वान पार्टी हो । उपत्यका मतदातालाई सम्बोधन गर्न सक्नुपर्छ जस्तो लाग्छ,’ श्रेष्ठले भने ।