News in Nepali

निजामती सेवा ऐन दुई महिनाभित्र संसद्‌मा टेबल गर्छु : मन्त्री मोदी

Lumbinikhabar Online

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजमाती सेवा ऐन चालु अधिवेशनमा नै दुई महिनाभित्र संसद्‌मा टेबल गर्ने बताएका छन् ।

प्रेस सेन्टर मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मोदीले सरोकारवालासँग छलफल भइरहेकाले चाँडै सबैको सहमतिमा कर्मचारीलाई न्याय हुने गरी निजामती सेवा ऐन संसद्‌मा टेबल गर्ने बताएका हुन् ।

‘नयाँ सरकारले २० प्रतिशत कर्मचारी भर्ना गरेर काम गर्न पाउने व्यवस्थाबारे समेत बहस र छलफल भइरहेको छ,’ उनले भने, ‘अहिलेको प्रविधि युगमा यति धेरै कर्मचारी आवश्यक भए/नभएको बारेमा समेत अध्ययन गरिरहेको छु ।’

कर्मचारीहरुलाई आ–आफ्ना दरबन्दी भएको ठाउँमा हाजिर भएर काम गर्न निर्देशन दिएको मन्त्री मोदीले बताए । ‘काठमाडौंमा नै बस्ने कर्मचारीको प्रवृत्ति रहेकाले त्यस्ता बरन्डामा बस्ने कर्मचारीहरुको सूची बनाउँदै छु,’ उनले भने, ‘मन्त्रालयमा वर्षौंदेखि एउटै शाखा एकै जना कर्मचारी बसिरहेको अवस्थामा परिवर्तन ल्याउँछु ।’

मन्त्रालयमा कार्यरत कर्मचारीहरूलाई दुई वर्षमा शाखा परिवर्तन, ३ वर्षमा सरुवा, ४ वर्षमा पालिकामा काम गर्न जानुपर्ने मोदीको भनाइ थियो ।

Tags

छुटाउनु भयो कि ?