आर्टिकल्स

नातावादको राजनीति

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

काठमाडौं । लामो समय देखि नै नातावादको राजनीतिले देशलाई गाँजेको छ । यसबाट देश अझै मुक्त हुन सकेको छैन । राजनीतिमा नातावाद घुसे पछि देश बन्न सक्दैन । राजनीति भनेको यस्तो पवित्र चिज हो, जहाँ निस्वार्थ रुपमा जनसेवा गरिन्छ । तर नेपालको राजनीतिमा भने त्यस्तो देखिएन । नेपालको राजनीतिमा समाजसेवाको नाममा ब्यापार भएको छ । नेताहरु राजनीतिको नाममा सबै कुरामा सम्पन्न भएका छन ।

जनताको बलमा यति ठूला ठूला परिवर्तन भए, परिवर्तनबाट नेता बने तर जनता जहाँको त्यही छन । राजनीति दल र तिनका नेताहरुले राजनीति नियुक्ति, चुनावका लागी टिकट आदी इत्यादीमा सबै भन्दा बढी प्राथमिकता नातावादलाई दिन्छन । परिवर्तनका लागी लडेका, पार्टीको लागी योगदान दिएका ती नेता कार्यकर्ताहरु ओझेल परेको जस्तो देखिन्छ । जो संग पैसा छ त्यो नै राजनीतिमा हावी भएको छ । लामो समय देखि यस्तो प्रवृत्ति देखिन्छ ।

सत्ता राजनीतिमा राम्रा मान्छेलाई आउन दिइएको छैन । जसले गर्दा देश पछाडी परिरहेको छ । निकै लामो समयदेखि नै देशका जनताले दुख्ख पाइरहेका छन । जनताहरु अभाव र महंगी झेलिरहेका छन । राजनीतिलाई सेवा भनिन्छ। तर, जब कुनै राजनीतिकर्मी सार्वजनिक लाभको पदमा पुग्छ, उ जनताको सेवाभन्दा कमाउने तिर लाग्छ । त्यसो भएर पनि देश बिग्रिएको हो । जनताको सेवाभन्दा ब्यक्तिगत स्वार्थमा नेताहरु चुर्लुम्म डुबे पछि कसको के लाग्छ ? सबै भन्दा पहिला नेताहरु आफू बन्छन त्यस पछि परिवारका सदस्यहरु लाई बनाउछन र त्यसपछि नातागोता, आफन्त र आसेपासे बनाउँछन ।

यो धेरै पहिले देखिको रोग हो । आज संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि नातावादमा लागेका छन । यसरी देश बनाउन सकिदैन । जनतामा असन्तुष्टि बढेर जान्छ । त्यसो भयो भने समस्या आउँछ । राजनीतिमा निष्ठा, इमान्दारीता र सिद्धान्त चाहिन्छ । त्यो पनि हराउँदै गएको छ । तर, आजको राजनीति यसरी बिग्रिएको छ, पैसा बिना उम्मेदवार बन्न डर लाग्छ । राजनीतिमा बेइमानी, धोकाधडी, विचार र कुनै सिद्धान्त नभएकाहरुले जनता अल्मलाईरहेका छन ।

देशले दुःख पाएको यस्तै राजनीतिका कारण हो। लोकतान्त्रिक प्रणालीमा पनि नातावादको राजनीति हावी हुनु भनेको लाज मर्दो कुरा हो । राजनीतिमा नातावाद, परिवारवादको बिरोध गर्नु पर्छ । लोकतन्त्रका लागि हजारौं नेपालीले प्राणको उत्सर्ग गरे । सहिद, घाइते, अपांगता र बेपत्ता पनि बने। के उनीहरुले प्राणको उत्सर्ग गरेको नेताहरु र उनका परिवार बनाउन हो ? मलाई प्रश्न गर्ने मन लाग्यो । उनीहरुले नेता र उनका परिवार मात्र बनाउनका लागि बलिदान र संघर्ष गरेका थिएनन्। देशको भाग्य र भबिश्य बनाउनका लागी बलिदान र संघर्ष गरेका थिए । नेताहरुले यो कुरा बुझेको खै ?

Tags

छुटाउनु भयो कि ?