News in Nepali

अफ्रिकी युनियनका प्रमुख सल र रुसी राष्ट्रपति पुटिन बीच भेटवार्ता ,युद्धका कारण अफ्रिकी देश निक्कै मारमा परेको गुनासो

Lumbinikhabar Online

अफ्रिकी युनियन प्रमुख मर्की सलले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।

रुसमा भएको भेटमा अफ्रिकन युनियनका प्रमुख सलले रुस–युक्रेन युद्धका कारण अफ्रिकी देश र नागरिक निक्कै मारमा परेको गुनासो समेत गरे । साथै अहिले देखिएको सङ्कट तत्काल अन्त्यका लागि आवश्यक सहजीकरण गर्न पनि आग्रह गरेको बताइएको छ ।

अफ्रिकामा खपत हुने गहुँको ४० प्रतिशत आयात रुस र युक्रेनबाट हुने गरेको छ । तर युद्ध सुरु भएपछि युक्रेनी बन्दरगाहबाट हुने निर्यात ठप्प जस्तै छ । किएभले बन्दरगाहमा रुसले रोक लगाएको आरोप लगाउँदै आएको छ । उत्पादन नहुँदा अफ्रिकामा खाद्यान्न अभाव छ ।

संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रमका प्रमुख माइक डन्फर्डले गएको वर्ष खानेकुराको अभाव झेलिरहेका मानिसको सङ्ख्या पाँच करोड रहेकोमा यो वर्ष आठ करोडभन्दा धेरै हुने बताएका छन् । सेनेगलका राष्ट्रपति समेत रहेका सलले पुटिनलाई धेरै टाढा रहे पनि अफ्रिकाका देश र नागरिक आर्थिक समस्याले पीडित रहेकोबारे जानकार रहन पनि अनुरोध गरेका छन् ।

साथै आफूले एसिया, मध्यपूर्व र ल्याटिन अमेरिकी देशहरूको तर्फबाट समेत अनुरोध गरेको उनको भनाइ छ । भेटमा रुसी राष्ट्रपति पुटिनले आफू अफ्रिकी देशहरूको पक्षमा रहेको बताए पनि खाद्यसङ्कटबारे स्पष्ट नपारेको खबरमा उल्लेख छ ।

Tags

छुटाउनु भयो कि ?