फिल्म र संगीत

सर्लाहीका विद्यार्थीमाझ ‘नालापानी’

Lumbinikhabar Online

वीर बलभद्र कुँवरसहित नेपाली फौजले नालापानीमा देखाएको विरतालाई समेटेर तयार गरिएको चलचित्र ‘नालापानी’ सर्लाहीका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका माझ देखाइएको छ । नेपाली वीरताको गाथा संसारभरका मानिसहरूले थाहा पाउन भन्ने उद्देश्यले तयार गरिएको सो चलचित्र मंगलवार जिल्लाको हरिवन स्थित सम्राट होटलमा सर्लाही एम्वीसन र मनकामना ईंङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई देखाइएको हो ।

यस्तै चलचित्र बुधबार पनि देखाईएको छ । बुधबार हरिवन स्थित सगुन शिक्षा सहकारी, ज्ञानज्योती इंलिस बोडिङ स्कुल र डनिङ्ग फ्यूचर ईङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरूमाझ देखाईएको छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सनले निर्माण गरेको चलचित्र नेपाली सेनाको ईतिहास, वीर बलभद्र कुँवर र नालापानीका नायक वीर बलभद्र कुँवर नामक पुस्तकका आधारमा निर्माण गरिएको हो ।

नेपाल चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको यो चलचित्रमा नेपाली वीरताका गाथा, नेपाली सेनाको इतिहास समेटिएकोले विद्यार्थी तथा देशका उच्च ओहदामा बसेकाहरूले पनि हेर्नुपर्ने निर्माण पक्षको भनाइ छ ।

चलचित्रमा वीर योद्धा बलभद्र कुँवर र उहाँका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त देखाइएको छ ।

प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविदहरू प्रा. डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र के.सी., पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरूसँग पटक पटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रही ‘नालापानी’ तयार पारिएको निर्देशक रिमेश अधिकारीले बताउनुभयो ।

यस चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी अधिकारी, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रा.लि.को प्रस्तुति रहेको यस चलचित्रलाई बिजिबि इन्टरटेनमेन्ट र गंगा नारायण फिल्म्सले सहकार्य गरेका छन् । चलचित्रको परिकल्पना, निर्माण तथा निर्देशन रिमेश अधिकारी हुनुहुन्छ ।

नालापानीको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गर्नुभएको छ । द्वन्द्व रोशन श्रेष्ठ, सिनेमाटोग्राफी रामशरण उप्रेती, सम्पादन बिपिन मल्लले गर्नुभएको छ भने वसन्त खत्री मगरले भिएफएक्स गर्नुभएको छ ।

Tags

छुटाउनु भयो कि ?