आर्टिकल्स

पटक–पटकको मूल्यवृद्धिले जनजीवन अस्तव्यस्त बन्दै

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय, 

काठमाडौं। पटक–पटकको मूल्यवृद्धिले जनजीवन अस्तव्यस्त बन्दै गएको छ । बजार भाउ छोइ नसक्नु छ । ग्यास, पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्दा त्यसको चौतर्फी असर सबै तिर देखिएको छ। सर्बसाधरण जनतालाई महँगीको भार थेक्न हम्मेहम्मे परेको छ। दैनिक उपभोग्य वस्तुमा पर्ने तेल, घिउ, जिरा, धनियाँ, गेडागुडी, दाल, चामल, गहुँ, मकैलगायतका अधिकांश खाद्यवस्तुको मूल्य बढेर दोब्बर भएको छ। यस्तो भए पछि जनता के खाएर बाँच्ने ? जनताको आयस्रोत भन्दा खर्च बढि हुदै गएको छ ।

देशमा बेरोजगारी समस्या त्यस्तै छ । रोजगार नपाएर युवाहरु सडकमा भौतारिरहेका छन । देशको अबस्था दिन प्रति दिन नाजुक बन्दै गएको छ ।

जनताको जनजीविकाको सवालमा सरकार गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । गरिव जनता महंगीका कारण बिहान बेलुकाको हात मुख जोर्न नसक्ने अबस्थामा पुगेका छन । देशमा काम गरेर खाने उचित बातावरण अझै निर्माण हुन सकेको छैन । सानो तिनो ब्यापार ब्यावसाय गरेर खान खोजे पनि ब्यावसाय राम्रै संग चल्छ भन्ने कुनै ठेगान छैन । देशको यस्तो अबस्था देख्दा पिर लाग्छ ।

राजनीति दल र तिनका नेताहरु आफनै स्वार्थमा छन । उनीहरुले देश र जनताको कुनै वास्ता गरेको देखिदैन । आम नागरिक यति बेला समस्यै समस्यामा पिल्सिरहेका छन । मुलुकमा आर्थिक संकट दिनप्रतिदिन चुलिँदै गएको छ। व्यापार घाटा बढ्दो छ। सरकारले पुँजीगत खर्च गर्न सकेको छैन। विकास निर्माण प्रायः ठप्प छ । बजेट कार्यान्वयनको अवस्था दयनिय छ ।

पुँजीगत खर्च नहुँदा अर्थतन्त्र चलायमान भएको छैन। व्यवसायीहरूले बैंकबाट कर्जा पाइरहेका छैनन्। नेताहरुले राजनीति जनताका लागि नभएर आफ्नै स्वार्थका लागि गरिरहेका छन । सरकारले मनपरी मूल्यवृद्धि गरेर जनतामाथि अत्याचार गरेको छ । अहिले दैनिक उपभोग्य वस्तुमा पनि अचाक्ली मूल्यवृद्धि भइरहेको छ ।

व्यापारीहरूले जथाभावी मूल्यवृद्धि गर्दा सरकारी संयन्त्रले त्यसको प्रभावकारी अनुगमन गर्न सकिरहेको छैन । यसले सरकारी संयन्त्र पनि जनताको समस्या समाधान गर्न संवेदनशील छैन भन्ने कुराको पुष्टि गर्छ ।

सरकारले जनतालाई कसरी राहत दिन सकिन्छ भन्ने विषयलाई कहिल्यै पनि प्राथमिकता राख्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल पनि पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलित हुन सकेको छैन । विद्यार्थी र युवा संगठन पनि जागरुक हुन सकिरहेका छैनन् । सरकारको गलत प्रवृत्तिविरुद्ध आम नागरिकले आवाज बुलन्द गर्नु पर्छ ।

Tags

छुटाउनु भयो कि ?