News in Nepali

सरकारले चालु आर्थिक वर्षका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण नगर्ने

Lumbinikhabar Online

सरकारले चालु आर्थिक वर्षका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण नगर्ने भएको छ । मन्त्रिपरिषद्को ३० चैतको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न यस वर्ष पूर्वस्वीकृति नदिने निर्णय भएको हो ।

अर्थ मन्त्रालयका अनुसार सो बैठकले आगामी आर्थिक वर्ष २०७९/८० बाट नेपाल सरकारको केन्द्रीय निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गर्न आवश्यक तयारी गर्ने तथा नेपाल सरकारको तर्फबाट अनिवार्य रुपमा प्रतिनिधित्व गर्ने बाहेक नेपाल सरकारको खर्चमा हुने अन्य वैदेशिक भ्रमणमा समेत रोक लगाउने निर्णय भएको छ ।

पत्रपत्रिका खरिद, छपाइ, गोष्ठी, सेमिनार, आन्तरिक भ्रमणमा समेत मितव्ययिता अपनाउन निर्णयमा भनिएको छ । चालु आवको ९ महिनासम्म पनि पूँजीगत खर्च कम भएको भन्दै खर्च बढाउन सबै निकायले पहल गर्ने निर्णय सो बैठकले गरेको छ ।

बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड २०७८ विपरीत कुनै पनि कार्यक्रमलाई सहमति नमाग्ने, नदिने व्यवस्थाको पूर्ण पालना गर्न समेत बैठकले सरकारी निकायलाई आग्रह गरेको छ । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ का प्रावधानलाई पूर्ण रुपमा पालना गर्न समेत निर्देशन दिएको छ ।

Tags

छुटाउनु भयो कि ?