News in Nepali

वीरगञ्ज महानगरपालिकामा विद्यार्थीको भौतिक उपस्थितिमा पढाई सुरु

Lumbinikhabar Online

वीरगञ्ज महानगरपालिकामा आजदेखि औपचारिक रुपमा विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा आएका छन् । महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले बुधबारदेखि विद्यालय सञ्चालनमा आएको जानकारी दिएको छ ।

वीरगञ्जमा कोरोना संक्रमणको दर घट्दै गएकोले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगिएको जनाइएको छ ।

यसअघि कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै पुस २८ गतेदेखि नै १२ वर्षमुनिका सबै विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन नगर्न महानगरपालिकाले सूचना जारी गरेको थियो । बाँकी विद्यार्थीहरुको हकमा माघ ७ गतेभित्र परीक्षा लिइसक्न निर्देशन गरिएको थियो ।

परीक्षा लिइसकेका विद्यालय माघ २८ गतेदेखि नै बन्द भएका थिए । सरकारले पनि माघ १५ गतेसम्म विद्यालय बन्द गर्न आह्वान गरेको थियो ।

मंगलबार नगरप्रमुख विजयकुमार सरावगीको अध्यक्षता तथा सामुदायिक माध्यमिक विद्यालय र आधारभूत विद्यालयका प्रधानाध्यापकहरू एवं प्याब्सन, एनप्याब्सनका प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बुधबारदेखि वीरगञ्जका विद्यालयहरु भौतिक उपस्गितिमा नियमित पठनपाठनको क्रियाकलापलाई सञ्चालन गर्ने गराउने निर्णय भएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले जानकारी दिए ।

मंगलबार बसेको बैठकले फागुन १४ गतेबाट तेस्रो मेयर कप शुरु गर्ने र पालिका स्तरमा हुने कक्षा ८ को परीक्षा चैत २४ गतेबाट सञ्चालन गर्ने निर्णयसमेत गरेको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । यसअघि माघ ८ गतेदेखि सुरु गर्न लागिएको मेयर कप कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्थगित गरिएको थियो ।

 

Tags

छुटाउनु भयो कि ?