News in Nepali

‘राजश्व भनेको राष्ट्रको रगत पसिना हो । यो बगेर गइरहेको छ’ : अर्थमन्त्री शर्मा

Lumbinikhabar Online

अर्थमन्त्री जनार्दन शर्माले डिजिटल प्रविधिमार्फत् राजश्व चुहावटका बढेको भन्दै त्यसतर्फ चासो बढाएका छन् ।

केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकलाई मंगलबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले राजश्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताए ।

क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायतका ‘अवैध’ कार्य भइरहेकोप्रति अर्थमन्त्रीले चासो राखेका थिए ।

मन्त्री शर्माले राजश्व चुहावटलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए । ‘राजश्व भनेको राष्ट्रको रगत पसिना हो । यो बगेर गइरहेको छ’, उनले भने, ‘यो हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ । त्यसकारण त्यसको नियन्त्रणको कार्य आजको आजैबाट सुरु गर्नुपर्छ ।’ यसका लागि आवश्यक बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयले कुनै कन्जुस्याइ नगर्ने पनि बताए ।

मन्त्री शर्माले कतिपय राजश्व चुहावट आम मानिसमा चेतना नहुँदा पनि भइरहेको भन्दै सचेतनामूलक सन्देश फैलाउन पनि आवश्यक रहेको उल्लेख गरे । सन्देश फैलाएर सर्वसाधारणमा चेतना पैदा भई सम्पूर्ण निकाय, आम जनता लगायत सरोकारवाला सबै मिलेर राजश्व चुहावटविरुद्ध लागे ८० देखि ९० प्रतिशतसम्म चुहावट नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

उनले नाकामा रहेका प्रहरी, कर्मचारीलगायतलाई तालिमको व्यवस्था गर्ने, द्रूत गतिमा संरचनागत तथा प्रविधिको विकास गर्ने लगायतका कार्यले पनि राजश्व चुहावटमा कमी ल्याउन सकिने धारणा राखेका छन् ।

Tags

छुटाउनु भयो कि ?