News in Nepali

नेपाल प्रहरीमा विशिष्ट श्रेणीको तीन वटा दरबन्दी थप हुने

Lumbinikhabar Online

नेपाल प्रहरीमा विशिष्ट श्रेणीको तीन वटा दरबन्दी थप हुने भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तीन वटा दरबन्दी थप गर्नका लागि संगठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि पठाइएको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक छन् । गृह मन्त्रालयका एक अधिकृतका अनुसार खाँणले एआईजी दरबन्दी थपको प्रस्ताव मन्त्रिपरिषद्मा लगिसकेका छन्, तर विचाराधीन छ ।

अहिले एआईजीको दरबन्दी थप भए बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिष्पर्धी हुन् ।

स्रोतका अनुसार अहिले एआईजी बढुवाका लागि लबिइङ गर्नेहरुमा डीआईजी वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी लगायत छन् ।

यीमध्ये पन्त र कार्की हालका प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याची हुन्, उनीहरु प्रहरीभित्रका औसत अधिकृत मानिन्छन् । महानिरीक्षक थापाको वैकल्पिक टोलीबाट रहेका प्रतिष्पर्धीमध्ये सिंह र सुवेदी अब्बल अधिकृतका रुपमा गनिन्छन् । अपराध अनुसन्धान र पुलिसिङमा दुई अधिकृत ब्याचकै उत्कृष्ट मध्येका भएको प्रहरी अधिकृतहरु बताउँछन् ।

अर्थमन्त्री जनार्दन शर्मा निकट भनेर चिनिएका धानुक पनि एआईजीमा बढुवा हुन दौडधूप गरिरहेका छन् । एसएसपी छँदा कीर्ते प्रकरणमा सांसद नवराज सिलवाललाई कारबाही नगरेको आरोपमा कांग्रेस सरकारले उनलाई काठमाडौं प्रहरी प्रमुखबाट हटाएको थियो ।

Tags

छुटाउनु भयो कि ?