News in Nepali

नेपालले यस वर्ष ३.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने विश्व बैंकको अनुमान

Lumbinikhabar Online

विश्व बैंकले यस वर्ष नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको छ ।

नेपाल सरकारले भने ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने बताइरहेको छ । तर, विश्व बैंक भने प्रारम्भबाटै आफ्नो प्रक्षेपणमा अडिग छ । कोरोना विरुद्धको खोप अभियान र यसले अर्थतन्त्र चलायमान भइरहेको अवस्थामा यो वृद्धिदर हासिल हुन सक्ने अनुमान विश्व बैंकको छ ।

सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यो सूचीमा अफगानिस्तानलाई राखेको छैन । तीव्र राजनीतिक अस्थिरताका बीच यो मुलुकको प्रक्षेपण हुन नसकेको बताइएको छ । नेपालले आगामी वर्ष भने ४.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ ।

निम्न मुलुकहरुको आर्थिक वृद्धिदर :-

माल्दिभ्स : ११ प्रतिशत
भारत : ८.३ प्रतिशत
बंगलादेश : ६.४ प्रतिशत
भुटान : ५.१ प्रतिशत
नेपाल : ३.९ प्रतिशत
पाकिस्तान : ३.४ प्रतिशत
श्रीलंका : २.१ प्रतिशत
सार्क मुलुकमा सन् २०२१ को मध्यपछि कोरोनाको दोस्रो लहर कम भएको थियो । त्यसपछि अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको प्रतिवेदनमा उल्लेख छ । यसमा औद्यागिक उत्पादनमा आधारित भारत र बंगलादेशले राम्रो संकेत देखाएका छन् ।

। माल्दिम्भसमा सन् २०२१ मा पर्यटक आगमन २२.३ प्रतिशतले बढ्दा नेपालमा गिरावट आएको थियो । श्रीलंका भने निरन्तर आर्थिक समस्यासँग जुधिरहेको छ ।

अफगानिस्तानमा भने अगस्टमा तालिवान शासन आएपछि अन्तर्राष्ट्रिय सहायता ठप्प बन्न पुग्यो ।

समग्रमा दक्षिण एसियाली भेगले ७.६ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने देखिएको छ । विश्व अर्थतन्त्रमा भने यस्तो वृद्धिदर ४.१ प्रतिशतको रहने अनुमान छ । खासगरी कोरोना भाइरसका नयाँ नयाँ भेरियन्टका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव रहने जोखिम देखिएको छ ।

Tags

छुटाउनु भयो कि ?