टप खबर

शेरबहादुर देउवा: एमसीसी जसरी पनि पास गर्छु

Lumbinikhabar Online

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जसरी पनि पास गर्ने बताएका छन्।

शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग छलफलका क्रममा देउवाले यस्तो बताएका हुन्।

नेपालका प्रतिपक्ष र अन्य सत्तारुढ दलका नेतासँगको छलफलपछि बालुवाटार पसेकी फातिमासँगको लामो छलफलका क्रममा देउवाले एमसीसीबारे नेपालका दलहरुले कति पनि कुरा नबुझेको बताएका थिए।

‘यहाँका दलहरुले एमसीसीबारेमा कति पनि कुरै बुझेनन्। यिनीहरु अबुझ हुँदा साह्रै गाह्रो भयो’, कांग्रेस सभापतिसमेत रहेका देउवाले अमेरिकी टोलीसँग भने, ‘नेपालका अरु पार्टीले यो विषयमा बुझेकै छैनन्। त्यहीकारण मलाई गाह्रो भएको छ।’

देउवाले संवादका क्रममा करिब ६० अर्ब अनुदान प्राप्त हुने एमसीसी परियोजना संसदबाट अनुमोदनका लागि केही समय कुरिदिन उपाध्यक्ष सुमारसँग आग्रह गरेका थिए।

‘तपाईंहरुले केही समय पर्खिदिनुस्, म मिलाएर पास गर्छु’, देउवाले अगाडि भने, ‘आई विल डु दिस्, म जसरी पनि पास गर्छु।’

फातिमाको जवाफ

तर देउवासँगको छलफलमा पनि फातिमाले अब कुर्न सक्ने समय नरहेको भन्दै तत्कालै पास गर्न आग्रह गरेकी थिइन्।

भेटमा सहभागी एक नेताका अनुसार उपाध्यक्ष फातिमा सुमारले अब अनुमोदन हुन्छ या हुँदैन भन्ने भाषामा आफूहरुलाई उत्तर चाहिएको बताएकी थिइन्।

‘अब त धेरै ढिला भइसक्यो, हामी पर्खिने अवस्थामा छैनौँ’, उनले देउवासँगको छलफलमा भनिन्, ‘अब हामीलाई ‘एस, नो’ मा उत्तर दिनुस्।’

उनले अब अल्मलिएर बस्ने समय पनि आफूहरूसँग नभएको बताएकी थिइन्। ‘अब अल्मलिएर बस्न सकिन्नँ’, उनले भनिन्, ‘अब यो भन्दा बढी अलमल नहोस्।’

दलहरुले कुरा नबुझेको भन्दै देउवाले समय मागेपछि उपाध्यक्ष फातिमा सुमारले अब त्यस्तो कुराले नहुने बताएकी थिइन्। ‘अब यस्तो कुराले हुँदैन, अगाडि बढाउने भए बढाउनु, नत्र हाम्रो भन्नु केही छैन’, बैठकमा उनले भनेकी थिइन्।

तर देउवाले पटक पटक दलहरूलाई बुझाएर एमसीसी पास गर्ने कुरा दोहोर्‍याएका थिए। उनले पाँच दलीय गठबन्धनमा पनि छलफल भइरहेको बताउँदै एमसीसीलाई राष्ट्रिय सहमति बनाएरै पास गर्ने विश्वास दिलाउन खोजेका थिए।

Tags

छुटाउनु भयो कि ?