टप खबर

वामदेव गौतमले एमालेबाट दिए राजीनामा

Lumbinikhabar Online

एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले त्यागेका छन् । उनले शुक्रबार एमाले पार्टी कार्यालय थापाथलीमा राजीनामा पत्र बुझाएका छन् । एमाले पार्टी कार्यालयका सचिब शेरबादुर तामाङले गौतमको राजीनामा आएको खबरहबलाई जानकारी दिए ।

गत पुसमा तत्कालिन ओली सरकारले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि तत्कालिन नेकपा दुई मुख्य धारमा विभाजित हुँदा गौतमले तेस्रो धार बनाएका थिए । अहिले एमाले विभाजन हुँदा एमालेभन्दा एकीकृत समाजवादीतर्फ बढी ढक्लिएका गौतमले एमाले त्यागेका हुन् ।

तर, उनी हालसम्म एकीकृत समाजवादीमा पनि गइसकेका भने छैनन् ।

गत पुसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टाढिएका गौतम फागुन २३ मा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि ओलीले बोलाएको बैठकमा कहिलेकाही सहभागी हुने गरेका थिए । एमालेमा चरम विवाद भएका बेला गौतम एक दुई पटक ओलीले बोलाएको बैठकमा सहभागी भए पनि एमाले विभाजनपछि ओलीले बोलाएको बैठकमा सहभागी भएका थिएनन् ।

गौतम माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा जान्छन् कि छुट्टै पार्टी बनाउँछन् भन्ने यकिन छैन ।

Tags

छुटाउनु भयो कि ?