काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडौँमा फोहर उठाउन सुरु गरेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहर आशिंक रुपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ ।गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइड पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो । ल्याण्डफिल्ड साइडका स्थानीयले विभिन्न माग राखी थप अवरोध गरेका थिए ।
जसका कारण दुई साता भन्दा लामो समयदेखि राजधानीको फोहोर ब्यवस्थापन हुन सकेको थिएन । बुधबारबाट उपत्यकाका अधिकांश स्थानबाट फोहर उठाउन सुरु गरिएको र अव नियमित फोहर उठाइने महानगरको भनाइ छ ।
यसअघि महानगर र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएको थियो ।
९ बुँदे सहमति फोहरको विसर्जन गर्ने ठाउँबाट नौ सय मिटर दूरीमा पर्ने अति प्रभावितलाई घरटहराको प्रति स्क्वायर मिटर वार्षिक रु ५० कायम रहने, फोहर विसर्जन खाल्डो खनेर गर्ने र माटोले पुरी रोग नियन्त्रण गर्न किटनाशक औषधिको प्रयोग गर्ने, लिचडको प्रशोधन गरेर मात्र खोलामा पठाउने, फोहर फाल्ने स्थान (तीनपिप्ले–सिसडोल)सम्मको सडक स्तरोउन्नति गर्ने, ओखरपौवाका शाखा सडक कालोपत्र गर्ने तथा ककनी गाउँपालिका– १ र २ का लागि काठमाडाँै महानगरपालिकाले तीन महिनाभित्र एम्बुलेन्स उपलब्ध गराउने उल्लेख छ ।
काठमाडाैंमा दैनिक उत्पादन हुने करिब एक हजार ५०० टन फोहर विसर्जन ओखरपौवा सिसडोलमा गरिँदै आएको छ । काठमाडाैं महानगरपालिकाले तीन वर्षका लागि प्रस्ताव गरेको ओखरपौवाको सिसडोलमा विगत १३ वर्षदेखि फोहर फालिँदै आएको छ । त्यसको विकल्पमा ओखरपौवाको वञ्चरेडाँडाको प्रस्ताव गरेपनि अझै पूर्वाधार निर्माण हुन सकेको छैन ।