टप खबर

डा. रामशरण महत: म पनि कांग्रेस सभापतिको उम्मेदवार हुँ

Lumbinikhabar Online

 नेपाली कांग्रेसका नेता डा. रामशरण महतले आफू पनि पार्टी सभापतिको उम्मेदवार भएको बताएका छन् । आफ्नो समूहबाट सकेसम्म एक जना मात्र उम्मेदवार उठाउने प्रयास भइरहेको पनि उनको भनाइ छ ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. महतले भने, “पार्टीमा सर्वसम्मतिले चयन हुन नसके समूह-समूहबीच प्रतिस्पर्धा हुनु स्वाभाविक हो । हाम्रो समूहमा पनि जसको पक्षमा धेरै समर्थन देखिन्छ, उसलाई स्वीकारेर अघि बढ्ने कोसिस भइरहेको छ ।”
उनले थपे, “सभापतिको एउटा उम्मेदवार मै हुँ, अरु साथीहरुको पनि आकांक्षा छ । साथीहरुले मलाई पनि उठ्नुपर्छ भन्दै छन् । तर एक भएर लड्नका लागि दबाब छ । यही उम्मेदवार भन्ने निर्णय भएको छैन । केन्द्रीय समितिको मनोयनन दर्ता गर्न धेरै समय छ । अहिले घोषणा गर्ने बेला भएको छैन ।”
उनले तेह्रौं महाधिवेशनमा वरिष्ठता, क्षमताका आधारमा रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाएको स्मरण गरे । उनले भने, “पहिले प्रकाशमान र मैले पौडेललाई छाडेका हौं । सिटौलाजी उठ्छुु भन्नुभएको थियो, उहाँ पनि उठ्नुभयो । पौडेलको नाममा पनि एउटा सम्भावना हुन सक्छ । उमेर धेरै भइसक्यो । अब अन्तिम पटक होला । उनी नभए मेरो पनि सम्भावना छ ।”
तर उनले आफू सभापतिबाहेकका पदमा नलड्ने बताए । उनले थपे, “म अन्य पदमा लड्दिनँ । धेरै जुनियर मानिसले दाबी गरेका छन् । मेरो भनाइ वरिष्ठता र क्षमताका आधारमा साझा उम्मेदवार बनाइनुपर्छ भन्ने हो । तर पार्टीमा गुटबन्दीभन्दा माथि उठ्नुपर्छ । शक्ति संघर्ष र प्रतिस्पर्धा पार्टी पार्टीबीच गर्ने हो । आन्तरिक शक्ति संघर्ष मात्र गरिरहँदा पार्टीलाई नोक्सान हुन्छ । गुटका आधारमा पार्टी संगठन गर्नुहुन्न । अनावश्यक प्रतिस्पर्धा र विवाद गर्नुहुन्न ।”

डा. महतले डेढ महिना भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेकामा नमज्जा लागिरहेको बताउँदै गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड, बजेट प्रतिस्थापन र एमसीएसी अनुमोदनबारे पहिल्यै सहमति भएको भए अहिलेको अवस्था नआउने दाबी गरे । सरकारमा आफ्नो समूहको ४० प्रतिशतभन्दा पनि सन्तुलन कायम हुनुपर्ने उनको भनाइ छ । उनले भने, “को उपयुक्त हुन्छ, त्यही छान्ने हो । म पार्टीको आन्तरिक कुराको धेरै प्रचार गर्न चाहन्न ।”

Tags

छुटाउनु भयो कि ?