टप खबर

भीम आचार्य: पार्टीलाई धोका दिन सक्दिनँ

Lumbinikhabar Online

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफ्नो पक्षमा बहुमत पुर्‍याएर सरकार बचाउने कोसिस भइरहेको बताएका छन्।

नेकपा एमाले विभाजित भएपछि प्रदेशका १० जना सांसदहरु नवगठित नेकपा (एकीकृत समाजवादी) तिर लागेपछि अल्पमतमा परेका आचार्यले सरकार बचाउने कोसिस भइरहेको बताएका हुन्।आचार्यले बहुमत जुटाउन प्रयत्न भइरहेको बताउँदै अनुकुल मिल्नेबित्तिकै संसदबाट विश्वासको मत लिने पनि बताएका छन्।

उनले एमालेलाई एकतावद्ध राख्न आफूले कोशिस गरेको पनि उल्लेख गरे। एमाले एक होस् भनेरै आफूले मुख्यमन्त्री बन्ने खतरा मोलेको पनि उनले बताए।

आचार्यले मुख्यमन्त्री पदलाई अस्थायी भनेका छन्। बरु मुख्यमन्त्री पद छाड्ने तर कम्युनिष्ट आन्दोलनलाई धोका दिन नसक्ने आचार्यले बताए।

‘पार्टी फुटाउने कुरामा मेरो सहमति छैन। म पद जोगाउनकै लागि दायाँबायाँ गर्दिन,’ आचार्यले भने, ‘मुख्यमन्त्री अस्थायी चिज हो। यसका लागि आन्दोलनलाई धोका दिएर ७० वर्ष लामो इतिहास बोकेको पार्टी विगार्ने काम मबाट हुँदैन।’

उनले पदकै लागि आफूले गलत काम पनि नगर्ने बताएका छन्। ‘मैले पदका लागि गलत काम गर्न सक्दिनँ’, उनले भने, ‘पार्टी एकताको पक्षमा उभ्याइरहन्छु।’

प्रदेश १ मा हालै मात्र मुख्यमन्त्री भएका आचार्यलाई संकटमा पार्ने गरी एमालेका १० जना सांसद नेकपा एसतिर खुल्ने तयारीमा छन्।

नेकपा एसतिर खुल्न लागेका ती १० जना सांसदलाई चार दिनसम्म विराटनगरको एक होटलमा राखिएको थियो।

तर होटलमा थुनेर राखेको भन्दै आलोचना भएपछि नेकपा एसतिर लागेका सांसदलाई विराटनगरबाट अन्यत्रै सारिएको छ।

उनीहरुलाई एमालेमै रोक्न असफल भएको भन्दै आचार्यको आलोचना पनि भइरहेको छ। एमालेबाट ती सांसदलाई नेकपा एसतिर लैजाने कामको संयोजन सांसद राजेन्द्र राईले गरिरहेका छन्।

राई आचार्यलाई हटाएर आफू मुख्यमन्त्री बन्ने दाउमा छन्। प्रदेश १ मा सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काङमाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदम कुमारी गुरुङ माधव नेपालतिर खुल्दै छन्।

उनीहरुले बुधबार विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गर्ने तयारी गरिसकेका छन्।

यससँगै मुख्यमन्त्री आचार्यको सरकार अल्पमतमा पर्ने निश्चित भएको छ। एमाले विभाजनपछि निवर्तमान मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँगै आचार्य मुख्यमन्त्री बनेका थिए।

एमालेका ५१ मध्ये १० सांसद नयाँ पार्टीमा लाग्ने भएपछि उनको सरकार अल्पमतमा पर्ने निश्चित भएको हो। आचार्यले गत बिहीबार मात्र मुख्यमन्त्रीको शपथ लिएका थिए।

आचार्यले एमालेका ४० मात्रै सांसद रहने अवस्थामा अन्य साना दल र जनता समाजवादीका पनि सांसद तानेर बहमुत कायम राखिरहने कोसिस अहिले गरिरहेका छन्। नेपाल पक्षमा खुल्ने केही सांसदलाई पनि रोक्ने प्रयासमा उनी छन्।

Tags

छुटाउनु भयो कि ?