टप खबर

जनगायक जेबी टुहुरेको निधन

Lumbinikhabar Online

लोकप्रिय जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पतालमा उपचाररत उनको निधन भएको हो ।

जनवादी, प्रगतिशिल र क्रान्तिकारी गायकको छवि बनाएका टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका रोगीसमेत थिए । उनको जन्म वि.सं. २००१ कार्तिक १५ गते धरानको पुरानो बजारमा कृष्णबहादुर खड्गी र माता दानदेवी खड्गीका जेठो सन्तानका रुपमा भएको थियो ।

२०२१ सालमा पिताको निधन भएपछि उनले आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए । उनको परिवार २००७ सालमा मोरङको मधुमल्लामा बसाई सरेर आएको थियो । उनले २०१७ सालमा सुनसरी सिमरियाकी सत्यदेवीसँग मागी विवाह गरेका थिए ।

२०१० सालबाट सांगीतिक यात्रा सुरु गरेका जेबीले २०२० को दशकदेखि कम्युनिस्टका गीत गाउँदै हिँडे । माले हुँदै एमाले निकट रहेका टुहुरे वि.सं.२०६६ सालपछि माओवादी निकट थिए । २०७० सालको संविधानसभामा निर्वाचनमा टुहुरे माओवादीबाट संविधानसभा सदस्य भएका थिए ।

जेबीले गाएको गीत ‘आमा दिदी बहिनी हो’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’  लोकप्रिय छ ।

Tags

छुटाउनु भयो कि ?