टप खबर

एनआरएनद्वारा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन स्वेतपत्र जारी

Lumbinikhabar Online

वैदेशिक रोजगारमा रहेका आप्रवासी नेपाली कामदारको अवस्था र भावी रणनीति तय गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वेत पत्र जारी गरेको छ ।

एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् वैदेशिक रोजगार तथा कल्याणकारी विभागले बनाएको स्वेतपत्र एनआरएनए अध्यक्ष कुमार पन्त, विभाग प्रमुख डा. बद्री केसी, उपाध्यक्ष रविना थापा र सल्लाहकार टिबी कार्कीले संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।

वैदेशिक रोजगारका विज्ञ र विभिन्न क्षेत्रबाट दक्ष्यता हासिल गरेको व्यक्तिको सहयोगमा तयार पारिएको स्वेत पत्रले आगामी दिनमा नीति निर्माणमा सहयोग पुग्ने कार्यक्रममा बताइएको छ ।

कोभिड–१९ को संक्रमणमा एनआरएनएले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको उद्दारदेखि पुनर्स्थापनासम्मको तथ्यांक कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

रोजगारीका लागि विदेसिएका नेपालीले विप्रेषण मात्र नभई सीप, दक्षता, क्षमता, अनुभव, काम गर्ने आधुनिक शैली, नेटवर्कसहित आएका हुन्छन् । यसको सदुपयोग स्वदेशमै अपेक्षाकृत रुपमा नभएको गुनासो व्यापक आएको छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्नेलगायतका विषयलाई सम्बोधन गर्न स्वेतपत्र सहयोगी बन्ने बताइएको छ ।

नेपाल सरकारको पछिल्लो तथ्यांक अनुसार वैदेशिक रोजगारीका लागि नेपाल सरकारले खोलेका १ सय १० देशको लागि सन् २०१९ र २०२० मा मात्रै झण्डै ४ लाख नेपालीले औपचारिक रुपमा नेपाल सरकारसँग श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारी देशको लागि मुख्य आय स्रोतको रुपमा रहेको छ । कुल गार्हस्थ उत्पादनमा (जीडीपी) मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले रेमिट्यान्स मार्फत २४ प्रतिशतको योगदान गरेका छन् ।

विश्वव्यापी कोरोना भाइरसको महामारीमा वैदेशिक रोजगारी समेत पूर्ण रुपमा प्रभावित हुँदा मुख्य रुपमा मध्यपूर्वमा रहेका साउदी अरब, युएई, कुवेत, ओमन र बहराइन तथा मलेसिया लगायतका देशमा जाने नेपालीहरु समस्यामा परेका छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अभिभावकत्वको जिम्मेवारी नेपाल सरकारको हो । विदेशमा अलपत्रमा परेका नेपालीहरुको उद्धार र सहयोगमा नेपाल सरकारको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

कोभिड–१९ को महामारीपछि गैरआवासीय नेपाली संघ, विदेशस्थित नेपाली सरकारी निकायबीचको सहकार्यमा करिब २ लाख नेपालीहरुको उद्धार गरिएको छ ।

आगामी दिनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघको सहकार्यलाई अझ सशक्त बनाएर एक संयुक्त स्थायी संरचनामार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहयोगको बाटो खोल्न यो श्वेतपत्रले आधार तयार पारेको कार्यक्रममा बताइयो ।

कोभिड–१९ का कारणले विभिन्न गन्तव्य देशस्थित अस्पतालमा उपचार गरिरहेका नेपालीहरुको लागि आवश्यक सहयोग पुर्‍याउन, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आवश्यक तालिम, कानूनी परामर्श, अलपत्रमा परेकाहरुको घर फिर्ती र कोरोना भाइरसको प्रभावका कारण वैदेशिक रोजगारीमा अलपत्र परेर स्वदेश फर्किएकाहरुको उचित व्यवस्थापन र विदेशस्थित नेपाली सरकारी नियोगहरुमा पर्याप्त साधन र स्रोतको समेत व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएकोले नीतिगत सुधारका लागि पनि यो श्वेतपत्र सहयोगी हुने देखिन्छ ।

वैदेशिक रोजगारीले ल्याएको सामाजिक परिर्वतन सहित कयौं अवसर र चुनौतिहरुलाई समेटेर गैरआवासीय नेपाली संघको तर्फबाट स्वेतपत्र जारी गरिएको प्रवक्ता डिबी क्षेत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?