टप खबर

महन्थ ठाकुरको अध्यक्ष पद गुम्यो

Lumbinikhabar Online

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ कार्यकारिणी समितिको विवरणलाई अद्यावधिक गरेको छ। उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि पठाइएको अभिलेख अद्यावधिक गरिएसँगै महन्थ ठाकुरको अध्यक्ष पद पनि गुमेको छ।

जसपाको आधिकारिकता पाएको यादव पक्षले कार्यकारिणी समिति बैठकको निर्णय विवरण आयोगमा पठाएको थियो। त्यसलाई अभिलेखिकरण गरिएको पुष्टि आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गरेका छन्।

आयोगले जसपामा ३५ सदस्यीय नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गरेपछि अब ठाकुर समूहले अर्को विकल्प खोज्नुपर्ने भएको छ। जसपाको आधिकारिकतालाई लिएर ठाकुर समूह सर्वोच्च समेत गएको थियो।

तर सर्वोच्चले पनि आयोगकै निर्णयलाई अघि बढाएपछि ठाकुर समूह पार्टीविहीन भएको हो। यससँगै अब महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष आजदेखि कानुनी रुपमै जसपाबाट बाहिरिएका छन्।

अहिले ठाकुर-महतो पक्ष नयाँ पार्टी निर्माणका लागि तराई-मधेस अभियानमा छ। खास गरी प्रदेश २ मा ठाकुर पक्षले कार्यकर्ता भेला गरिरहेको छ।

Tags

छुटाउनु भयो कि ?