टप खबर

एमाले एकता जोगाउन बढ्यो भीम रावलको सक्रियता

Lumbinikhabar Online

नेकपा एमालेमा उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आग्रह गरेपछि आज निर्धारित केन्द्रीय कमिटीको बैठक स्थगित भएको खुलेको छ ।

रावलले शनिबार अपरान्ह अध्यक्ष ओलीलाई भेटेर आफूहरूले माधव नेपाललाई एकताको लागि दबाब दिइरहेको र पछिल्लो बैठकले पनि एकताको पक्षमा निर्णय गरेको भन्दै नेपालसँग वार्ताको पहल गर्ने बताएका थिए ।

अध्यक्ष ओलीले शनिबारै महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत नेतासँग पनि परामर्श गरेका थिए । नेपाल पक्षले आजको बैठक स्थगित गर्न र सदस्यता नवीकरणलगायतका संगठनात्मक काम रोक्न माग गरको थियो ।

रावलको आग्रहपछि ओलीले बैठक सोमबारसम्मलाई स्थगित गरेको बताइएको छ । तर, माधव नेपालसँगको वार्ता भने तय भइसकेको छैन । दुई नेताबीच वार्ता गराएर पावर सेयरिङमा सहमति जुटाउने प्रयास भए पनि दुवै नेता एक अर्काका सर्त मान्न तत्पर नदेखिएको वार्तामा सहभागी नेताहरूले बताएका छन् ।

रावलले ओली लगायतका नेताहरूसँग एकता भाँडिने खालका गतिविधि र अभिव्यक्ति बन्द गर्न आग्रह गरेका छन् । उनले सदस्यता नवीकरणको काम पनि सहमति भएपछि अघि बढाउन सकिने बताएका छन् ।

उपाध्यक्ष रावलले शनिबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि करिब ३ घण्टा लामो छलफल गरेका थिए । राष्ट्रपति भवन शीतल निवासमा भएको छलफल एमालेको विवाद र सत्ता गठबन्धनबाट हुनसक्ने राष्ट्रपतिविरुद्धका सम्भावित कदमहरूकै बारेमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

राष्ट्रपतिले पार्टीलाई एकताबद्ध बनाएर लैजान रावललाई आग्रह गरेको बताइएको छ । रावलले पनि एमाले एकताका लागि राष्ट्रपतिको पहल पनि महत्वपूर्ण हुनसक्ने बताएका थिए । भण्डारी र रावल दुवैजना नवौं महाधिवेशनबाट एमालेको उपाध्यक्ष निर्वाचित भएका थिए ।

Tags

छुटाउनु भयो कि ?