टप खबर

सरकारले दार्चुलाको घटना लुकाउन खोजेको एमालेको आरोप

Lumbinikhabar Online

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुलाको मालघाटस्थित महाकाली तरिरहेका बेला तुइन काटेर नेपाली युवकको ज्यान लिने भारतीय कदमविरुद्ध सरकारले सशक्त प्रतिरोध गर्न नसकेको आरोप लगाएको छ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै दार्चुलाबाट निर्वाचित एमाले सांसद गणेशसिंह ठगुन्नाले आफ्ना नगारिकको ज्यान गएको गम्भीर घटनामा पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतसँग कुरा गर्न डराएको बताएका हुन्।

साथै उनले दार्चुला घटनाबारे अविलम्ब भारतसँग औपचारिक विरोध जनाउन र दोषी भारतीय सुरक्षाकर्मी (एसएसबी) लाई मानव हत्या गरेको अभियोगमा कारबाहीको माग गरेका छन् । ‘दार्चुला घटनाबारे सरकारले अविलम्ब भारतसँग औपचारिक विरोध जनाओस्, दोषी एसएसबीलाई मानव हत्या गरेको अभियोगमा कारबाही होस्,’ उनले भने ।

सरकारले दार्चुला घटनाबारे भारतीय राजदूतलाई बोलाएर सोध्नुको सट्टा प्रशासनिक छानविन समिति बनाएर बसेको भन्दै एमालेले विरोध जनाएको छ ।

‘युद्धमा पनि जीउज्यान जोगाउनु मानवीय धर्म हुन्छ । तर, जयसिंह धामीको हत्या भएको छ । सीमामा यसरी नेपाली नागरिकको हत्या हुँदा पनि सरकार भारतीय राजदूतलाई बोलाउनुको सट्टा प्रशासनिक छानविन समिति बनाएर बसिरहेको छ,’ ठगुन्नाले भने । ठगुन्नाले भौगोलिक रुपमा टाढा भएर कालापानी काठमाडौंलाई नदुखेको बताए ।

ठगुन्नाले भौगोलिक रुपमा टाढा भएर कालापानी काठमाडौंलाई नदुखेको बताए। ‘सरकारलाई कालापानी किन दुख्दैन? कालापानी टाढा भएर होला। दार्चुला घटना दोहोरिन नदिन दार्चुला-कालापानी-तिंकरलाई राष्ट्रिय गौरवको बनाइयोस्’, उनले भने, ‘ताकि नेपाली नागरिकले तुइन तर्न नपरोस्। यो घटना छानबिनका लागि संसदीय समिति गठन गरियोस्। यो घटनामा भारतसँग विरोध जनाइयोस्। मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति दिइयोस्।’

Tags

छुटाउनु भयो कि ?