टप खबर

‘एसएसबीले तुइन काटेको हल्ला गलत’

Lumbinikhabar Online

शुक्रबार दार्चुलाको ब्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर ब्याँसका जयसिंह धामी बेपत्ता भए । मालघाटमा तुइन तार्ने काम गर्दै आएका कल्यानसिंह धामी जयसिंह तुइन तरिरहेका बेला एसएसबीले डोरी काटेको बताउँछन् ।

मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा एसएसबीका जवानले तुइनको डोरी काटेपछि  धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । तर, आनन्द स्वरुले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई लेखिएको पत्रमा भनिएको छ– ‘एसएसबीले तुइन काट्दा मान्छे खसेको भन्ने हल्ला एकदमै गलत छ ।’

महाकालीमा ठूलो बाढी आएकाले उनी जीवितै भेटिने सम्भावना अत्यन्तै कम रहेको छ। नेपाली युवक महाकालीमा खसेर बेपत्ता भएको घटनाको अध्ययन गर्न सदरमुकामबाट तीनवटा सुरक्षा निकायका अधिकारी घटनास्थल गएका हुन्।

जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानको टोली घटनास्थलतर्फ गइसकेको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी) ले जानकारी दिएकी छन्।

जोशीका अनुसार उक्त घटनाबारे सत्यतथ्य जानकारी लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाउन भारतीय पक्षलाई पत्र पठाइसकिएको छ। शुक्रबार दिउँसो ब्यास गाउँपालिका-२ खाङदाङ मालघाटबाट तुइन चढेर भारतको बाटो हुँदै खलंगा आउने क्रममा धामी महाकालीमा खसेका थिए। सदरमुकाम आउने क्रममा उनी सवार तुइन भारतीय एसएसबीका जवानले काटिदिएका थिए।

यसैबीच जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाल र भारतबीचको सम्बन्धमा खलल पार्ने तथ्यहीन समाचार प्रकाशन-प्रशारण नगर्न पनि सञ्चारमाध्यमसँग आग्रह गरेको छ। धामी सवार तुइन एसएसबीले काटिदिएको देख्ने नेपालीहरुले जानकारी गराउँदा पनि प्रशासनले घटनाबारे भ्रामक समाचार प्रसारण प्रकाशन भइरहेको जनाएको छ। प्रशासनले भारतीय पक्षलाई नै बल पुग्ने गरी विज्ञप्ति निकालेको भन्दै आलोचना भइरहेको छ।

छुटाउनु भयो कि ?