टप खबर

प्रधानमन्त्री देउवाका लागी इतिहास बनाउने अवसर

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको पनि धेरै दिन भयो । तर पनि अझै सम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषदले पूर्णता पाइसके पछि यो सरकारले कोरोना महामारीसँग जुधेर जनतामा आशा जगाउन र भरोसा दिन सक्नुपर्ने छ । सरकार कतै पनि चुक्न हुदैन । देउवाले जनताको मन जित्दै इतिहास निर्माणको दिशामा अग्रसर हुन जरुरी छ ।

देउवाको अघिल्ला कार्यकाल त्यति सन्तोषजनक भएनन् । जुन कारण जनता उनीप्रति निराश छन । प्रधानमन्त्रि देउवाले यो कार्यकालमा पहिलाका गल्ती जनताले भुल्ने गरी काम गरेर देखाउनु पर्छ । यो एउटा अवसर हो । देउवा सरकारसामु अहिले धेरै अवसर पनि छन् । अहिले देउवाका लागी इतिहास बनाउने अवसर छ । बिगतका गल्ति सच्याउदै उनी अव अघि बढनु पर्छ । अहिले देउवालाई धेरै दलको गठबन्धन हाँक्नुपर्ने बाध्यता छ ।

राजनीतिको वर्तमान परिस्थिति र प्रतिनिधिसभामा उनले पाएको विश्वासको मत हेर्दा सरकारलाई अल्पकालीन मात्र होइन, दीर्घकालीन महत्वका काम गर्ने अवसरसमेत प्राप्त भएको देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप नै आफ्नो प्रमुख प्राथमिकता हुने बताएका छन् । सरकारका लागि अहिलेको मुख्य चुनौती नै यही हो । युद्धस्तरमा खटिएर जति सक्यो छिटो खोपको प्रबन्ध मिलाउन सरकार अघि बढनु पर्छ । विश्वासको मत लिनेक्रममा प्रतिनिधिसभामा देउवाले वर्तमान सरकारको प्रमुख प्राथमिकतामा कोरोनाविरुद्धको खोप र छिमेकीसँग सौहार्द्रपूर्ण एवं सन्तुलित सम्बन्ध रहने बताएका छन् । मुलुकभित्रका विभिन्न समुदायका मागलाई गम्भीरतापूर्वक लिने पनि उनले बताएका छन् । यसरी उनी केही आशा सञ्चार गर्नसमेत सफल भएका छन् ।

देउवा सरकारलाई असफल बनाउन बाह्य र आन्तरिक केहि तत्वहरु लाग्न सक्छन । यसमा होसियारी रहनु पर्छ । माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा ,जसपाको बाबुराम–उपेन्द्र खेमा र एमालेको माधव नेपाल समूहका सासंदहरुको साथ र सहयोगका कारण देउवा प्रधानमन्त्रि हुन सफल भएका हुन । बिगतमा माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने र राजनीतिक रूपमा सम्मानपूर्वक व्यवहार गर्ने काम कांग्रेसले गरेको हो । यो कुरा कसैले भुल्नु हुदैन ।

जसपाको यादव–भट्टराई पक्ष मात्र नभएर ठाकुर–महतो पक्षले समेत देउवालाई संसदमा विश्वासको मत दिएका छन् । यसले उनलाई थप बलियो बनाएको छ । कोरोना महामारीसँग प्रभावकारी रूपले जुध्न र सकेसम्म चाँडै खोप उपलब्ध गराउन सके देउवा सरकार लोक प्रिय हुन सक्छ । खोप ल्याउने र लगाउने काम युद्धस्तरमा हुनु पर्छ । देउवा सरकारका अगाडि चुनौती पनि छन । ति चुनौतिहरुलाई छिचुल्दै देउवा अघि बढनु पर्छ ।

पुष्पकमल दाहालले दलहरूबीचको यो सहकार्यलाई अर्को चुनावसम्मै लैजाने घोषणा गरेका छन् । जसले गर्दा सरकार बलियो हुने सम्भावना देखिन्छ ।नेपालमा कोरोना महामारीको दोस्रो लहर केही मत्थर भए पनि थप लहर आउन सक्ने आकलन विज्ञहरूले गरेका छन् । विश्वभरका विकसित र विकासशील मुलुकले समेत धमाधम खोप दिँदै आफ्नो जीवनशैली पूर्ववत् अवस्थामा फर्काउन प्रयत्न गरिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप’ नै आफ्नो प्रमुख प्राथमिकता हुने बताएका छन् । देउवा सरकारका लागि अहिलेको मुख्य चुनौती भनेकै नै यही हो ।

उनकै दल र गठबन्धन घटकको कार्यशैली नफेरिने हो भने देउवा सरकार सफल हुन अत्यन्त गाह्रो छ । देउवा सरकारलाई नेपालको संविधान र त्यसअनुरूपको राजनीतिक प्रणाली र लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने ठूलो अभिभारा छ । मधेसकेन्द्रित दलले त झन् जारी हुँदाका वेलादेखि नै यो संविधानलाई रुचाएका छैनन् । सबैसँग समन्वय गरेर नेपालको संविधानमा समयानुकूल र सन्दर्भअनुसार परिवर्तन गर्दै यसलाई संस्थागत गर्नुपर्छ ।

यसो गर्न नसक्ने हो भने नेपाल अर्को अनिश्चितता र अस्थिरताको दलदलमा भासिन सक्छ । अहिले नेपालका राजनीतिक दलका नेताहरू जनताको जनजीविकाभन्दा पनि आफ्नो राजनीति कसरी टिकाउने र त्यसका लागि शक्तिकेन्द र धनाढ्यहरूलाई कसरी खुसी पार्ने भन्नेमा केन्द्रित छ । यो गलत संस्कार हो । दल र तिनका नेताहरुमा सुधार आउन जरुरी छ । देउवा सरकारको सफलतासँग मुलुकको लोकतन्त्र, संविधान र राजनीतिक प्रणालीको सफलता जोडिएको छ । आगामी यात्रा गम्भिरताका साथ चाल्नु पर्छ ।

Tags

छुटाउनु भयो कि ?