टप खबर

कांग्रेसको महाधिवेशन कार्यतालिका र मन्त्रिपरिषद विस्तारबारे छलफल

Lumbinikhabar Online

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक शुरू भएको छ ।

बैठक ११ बजे नै डाकिए पनि गठबन्धनको बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा व्यस्त भएपछि साढे १ बजेतिर शुरू भएको हो ।

देउवा निवास बुढानिलकण्ठमा जारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिले मंगलबार बुझाएको प्रतिवेदन र क्रियाशील सदस्य विवाद समाधानका विषयमा छलफल भइरहेको छ । यस्तै बैठकमा मन्त्रिपरिषद विस्तारबारे पनि छलफल हुने नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।

समितिले देशभरका ८ लाख ५२ हजार क्रियाशील सदस्यको नामावाली तयार पारेर सुझावसहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको छ।

बारा, सप्तरी, धनुषा र सर्लाहीको नयाँ सदस्य वितरणको विवाद शीर्ष नेताहरुकै बीचबाट सुल्झाउन आग्रह गर्दै समितिले प्रतिवेदन बुझाएको छ। समिति सदस्य कल्याण गुरुङले नै प्रतिवेदनमा असहमति जनाएपछि विवाद तथ बढ्न सक्ने देखिएको छ।

समितिले बुझाएको प्रतिवेदन र विवाद भएका स्थानको छलफलका लागि सभापति देउवाले बैठक तय गरेपछि प्रतिवेदनबारे धारणा बनाउन शीर्ष नेताहरु मंगलबार आन्तरिक छलफलमा जुटेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित संस्थापनइतर समूहले पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेको थियो।

संस्थापन पक्षले एकलौटी ढंगले क्रियाशील सदस्यता वितरण गरेको संस्थापनइतर समूहले आरोप लगाएको छ। कांग्रेस क्रियाशील सदस्यको विवादले पार्टीको आगामी १४औँ महाधिवेशन प्रभावित हुन शुरु भएको छ।

बैठकमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, उपसभापति बिजय कुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पुर्ण बहादुर खड्का, सहमहामन्त्री डा. प्रकाश शरण महत सहमहामन्त्री सुनिल बहादुर थापा कोषाध्यक्ष सीता देवी यादव गृहमन्त्री तथा प्रमुख सचेतक बालकृष्ण खाणं पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला पूर्वमहामन्त्री प्रकाशमान सिंहको उपस्थिति रहेको छ । त्यस्तै केन्द्रीय सदस्यहरुडा. मिलेन्द्र रिजाल, डा. रामशरण महत, पार्टीका मुख्यसचिव कृष्ण प्रसाद पौडेल पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगातयका नेताहरुको उपस्थिति रहेको छ ।

 

Tags

छुटाउनु भयो कि ?