टप खबर

विश्वकप छनोट : जोर्डनसँग प्रतिस्पर्धा गर्दै नेपाल

Lumbinikhabar Online

विश्वकप छनोट अन्तर्गतको खेल खेल्न नेपाली टोली अहिले कुवेतमा छ। इराकसँगको मैत्रीपूर्ण खेल खेलेर कुवेत पुगेको नेपाली टोलीले चाइनिज ताइपेइलाई केही दिन अघि हराएको थियो। त्यस्तै आज बेलुकी हुने खेलमा नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ।

फीफा वरीयतामा ९५ औं स्थानमा रहेको जोर्डन नेपालको बलियो प्रतिस्पर्धी हो। विश्वकप छनोटकै यसअघिको खेलमा जोर्डनले नेपालमाथि ३-० को गोलअन्तरले जित निकालेको थियो।

समूह बी मा ४ खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै समान खेल खेलेर १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ६ अंक जोडेको नेपाल चौथो स्थानमा छ। उता चाइनिज ताइपेइ जितविहीन रहँदै तालिकाको पुछारमा छ।

इतिहासको हिसाबले हेर्ने हो भने जोर्डन बलियो टोली देखिन्छ। सन् १९४९ मा जोर्डनको फुटबल एसोसिएसन बनेको थियो भने फिफामा सन् १९५६ मा सदस्य भएको थियो। विश्वकपमा अहिलेसम्म नपुगेपनि एसियन कपमा क्वाटरफाइनलसम्म पुगेको अनुभव जोर्डनसँग छ। सन् २००४ र २०११ मा जोर्डनले एसियाली कपको क्वाटरफाइनलको यात्रा तय गरेको थियो।

समूह बी मा ५ खेलबाट १० अंक जोडेको जोर्डन तेस्रो स्थानमा रहँदै शीर्षस्थान दुईको होडमा कायम छ। विश्वकप क्वालिफायर्सको तयारीलाई लिएर जोर्डनले धेरैवटा मैत्रीपूर्ण खेलसमेत खेलिसकेको छ।

नेपालसँग खेल्नुअघि जोर्डनले मे ३१ मा भियतनामसँग मैत्रीपूर्ण खेल खेलेको थियो जसमा १-१ को बराबरीमा रोकिएको थियो। त्यसअघिका मैत्रीपूर्ण खेलमा जोर्डनले यूएईलाई ५-१ को फराकिलो अन्तरले हराएको थियो भने बहराइनलाई २-१ ले र लेबनानलाई १-० ले हराएको थियो। यद्यपि त्यसअघिको खेलमा ओमनसँग गोलरहित वरावरी र उज्वेकिस्तानसँग २-० को पराजय ब्यहोरेको थियो।

नेपाल र जोर्डन नयाँ प्रतिद्वन्द्वी होइनन्। सन् २०११ मा अम्मानमा भएको खेलमा जोर्डनले नेपाललाई ९-० ले हराएको थियो। जुन जोर्डनले निकालेको सबैभन्दा फराकिलो जित हो। त्यस्तै त्यसको हप्तादिन भित्रै नेपालमा भएको खेल भने १-१ को बराबरीमा रोकिएको थियो। त्यस्तै यसअघिको खेलमा जोर्डनले ३-० को जित निकालेको थियो।

Tags

छुटाउनु भयो कि ?