टप खबर

कोरोना महामारीका कारण ब्युटिसियन व्यवसाय धरापमा

Lumbinikhabar Online

कोरोना महामारीका कारण अन्य व्यवसाय जस्तै ब्युटिसियन व्यवसाय पनि धरापमा परेको यस क्षेत्रका व्यवसायीहरुले बताएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले कोरोनाका कारण व्यवसाय बन्द हुँदा पेसाबाट नै पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् । कार्यक्रममा डा.राजेश्वरी श्रेष्ठले कोरोनाका कारण ब्युटिसियन व्यवसाय बन्द हुँदा पार्लर र आफु बसेको घरभाडा तिर्न नसक्ने अवस्थामा व्यवसायीहरु पुगेको बताउनुभयो । उहाँले राज्यले ब्युटिसियन व्यवसायलाई माथि उठाउन विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सरकारले ब्युटिसियन व्यवसायलाई विशेष सावधानी अपनाएर सञ्चालन गर्ने वातावरण बनाइदिनुपर्ने डा.श्रेष्ठको भनाइ छ । व्यवसायी सिता पाठकले सुरक्षा मापदण्ड अपनाएर यो व्यवसाय सञ्चालनको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘निषेधाज्ञाका कारण सिक्ने, सिकाउने, लगानी गर्ने र ब्युटी प्रोडक्टहरु उत्पादन गर्ने सबै मारमा परेका छन् ।’ व्यवसायी अनिता खड्का रायमाझिले कोरोनाका कारण व्यवसाय बन्द हुँदा धेरै नै मर्का परेको बताउनुभयो । आगामी दिनमा यस व्यवसायलाई कसरी अगाडि बढाउने भन्नेमा सबैको ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले कोभिडका कारण ब्युटिसियन व्यवसाय पनि अत्याधिक मारमा परेको बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिमा यस व्यवसायलाई पुनर्कर्जा, सुहुलियत र आर्थिक पुनउत्थानको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । ब्युटिसियन व्यवसाय परम्परागत ढंगले चलेको भन्दै उहाँले असहज अवस्थामा डिजिटलाईजेनमार्फत सुचारु गर्नुपर्नेमा जोड दिनुभयो ।

व्यावसायी सोनी करन्जितले सरकारले ब्युटिसियनको समस्यालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले शुन्य प्रतिशत व्याजमा ऋण र घरभाडा छुटका लागि घरवेटीसँग समन्वय गर्नुपर्ने बताउनुभयो । रुस्का श्रेष्ठले सरकारले यस क्षेत्रका व्यवसायीहरुलाई कर छुटको व्यवस्था गरेको भन्दै स्वागत गर्नुभयो । सुमित्रा रंजितले व्यवसाय नै बन्द हुँदा आफुहरुसँग भएका प्रोडक्टहरु समेत एक्पाएर हुन थालेको बताउनुभयो । उहाँले राज्यले ब्युटिसियनहरुलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

बरिष्ठ मेकअप आर्टीस टेकराज पाण्डेको संयोजकत्वमा समपन्न भएको कार्यक्रममा व्यवसायीहरु सुसिला गौतम, कम्लेस ठाकुर, कुलदिप कुमार वैश्य, मेकअप आर्टिस्ट गिता उप्रेती, सिता श्रेष्ठ, प्रिती प्रधान, सुमित्रा संजित, चित्र घिमिरे र सुनिता वादे लगायतले यस व्यवसायलाई पुनरुत्थान गर्नका लागि राज्यले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Tags

छुटाउनु भयो कि ?