सुदूरपश्चिम प्रदेशमा आगामी नौ महिनासम्म पुग्ने एक लाख ८० हजार ६८७ क्विन्टल आयोडिनयुक्त नून मौज्दात रहेको छ । आयोडिन नून बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको धनगढीस्थित कार्यालयका प्रमुख केशवप्रसाद पाण्डेले प्रदेशका दुर्गम जिल्ला बझाङ, बाजुरा, अछाम र दार्चुलाको हकमा ढुवानी अनुदानमा नून आपूर्ति भइरहेको बताए ।
“दुर्गम जिल्लामा पनि आगामी दशैँसम्म खान पुग्ने नून छ”, उनले भने, “यी जिल्लामा बिक्री मूल्यप्रति किलो रु नौ निर्धारण गरिएको छ ।” चालु वर्षमा यी जिल्लामा ३८ हजार क्विन्टल नून ढुवानी गर्नुपर्नेमा हालसम्म ३४ हजार क्विन्टल ढुवानी भइसकेको छ । यही जेठभित्र बाँकी परिमाणको नून ढुवानी भइसक्ने जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशमा कुल जनसङ्ख्याको झण्डै ८५ प्रतिशतले आयोडिनयुक्त नून उपभोग गरिरहेको कर्पोरेशनले जनाएको छ । विसं २०५६ सम्म प्रदेशमा आयोडिन नून उपभोग गर्नेहरू जम्मा दुई प्रतिशत रहेका थिए । डोटी, बैतडी र बझाङ जिल्लाका केही क्षेत्रमा भने आयोडिनको मात्र नभएको ढिके नून बढी मात्रामा उपभोग गर्ने गरिएको जनाइएको छ ।
कोरोना महामारीको सङ्कटबीच भारतको उत्तर प्रदेशबाट सुदूरपश्चिम प्रदेशसम्म ढुवानी गरेर बिक्री वितरण गर्नुपर्ने पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा पनि हाल त्यस्तो कुनै समस्या छैन । नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढी कार्यालयका निमित्त प्रमुख गणेशराज जोशीले भारत र नेपालमा देखिएको कोरोना भाइरसको महामारीको सङ्कटबीच सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको आपूर्तिमा हाल कुनै समस्या नरहेको बताए ।