आर्टिकल्स

देशमा देखिएको बेरोजगारी समस्या

Lumbinikhabar Online

  • डा.डिआर उपाध्याय,

अव सवैले देशका बारेमा सोच्ने बेला आयो । देश बनाउन सवै एकजुट हुनु पर्छ । हामी नेपाली जनता एक जुट नभए सम्म देशको बिकासले गति लिन सक्दैन । देशमा बेरोजगारी समस्या दिन प्रतिदिन बढदै गएको छ । यसको समाधान नै अहिलेको प्रमुख आबश्यकता हो । बेरोजगारी समस्याले सवैलाई पिरोलेको छ । बेरोजगारी समस्या गम्भिर चुनौतिको रुपमा खडा भएको छ । यो चुनौतिलाई पार गर्न जरुरी छ ।

अहिले देशमा जुन किसिमले बेरोजगारी समस्या देखिएको छ , यसको छिटो हल गरिनु पर्छ । बेरोजगारी समस्या समाधान गर्नु पर्ने दायित्व सरकारको हो । सरकारलाई सवै नेपाली जनताले सहयोग गर्नु पर्छ । सरकारको एकल प्रयासले मात्र केही हुदैन । सरकारलाई गाली गरेर मात्र हुदैन । आज मुलुक भित्र लाखौँ लाख शिक्षित युवायुवतीहरु बेरोजगार छन । यो समस्या गम्भिर हो । कैयौँ युवायुवतीहरु स्वदेशमा आफनो भविष्य नदेखेर विदेश पलायन छन । युवा जनशक्तिहरुलाई बिदेश पठाएर देशको बिकास हुन सक्दैन । देश रेमिट्यान्सले चल्ने मात्र भएको छ । अहिले देखिएको यो हो ।

युवा जनशक्ति विदेश पलायन हुनु भनेको उनीहरुको रहर होइन ,त्यो त बाध्यता हो । धेरै युवायुवतीहरु खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् । युवा जनशक्तिको अभावले ग्रामीण भेगतिर खेतबारीहरु बाँझा छन् । खेतीपाती गर्ने मान्छे नभएपछि कृषि उत्पादन घट्दो छ । अहिले देखिएको के छ भने गाउँमा धेरैको घरमा वृद्धवृद्धा मात्र बाँकी छन् । बेरोजगार र आर्थिक रूपमा विपन्न समुदायको समस्या ज्युँका त्यँु छन् । बेरोजगार र गरिब जनताका समस्या बढेको बढै छन । नेताहरु उनीहरुलाई अगाडि देखाएर सत्तास्वार्थको भ¥याङ चढ्ने गर्छन । राजनीतिक दल र तिनका नेताहरु अव इमान्दार देखिनु पर्ने बेला आएको छ । यसरी देश चल्दैन । सत्तामा पुगेपछि सबैकुरा बिर्सने प्रवृत्ति नेताहरुमा हावी भयो ।

देशमा गरिबीको संख्या बढिरहेको छ। दैनिक कमाएर बिहान–बेलुकाको छाक टार्नसमेत धौधौ छ । युवालाई कृषि कर्ममा लगाउन सकियो भने बिदेसिने पैसा स्वदेशमै रोक्न सकिन्छ। अब राज्यले दीर्घकालीन योजना बनाएर युवालाई सीपमूलक शिक्षामा जोड दिनु पर्छ । अव यो कुरामा कुनै ढिलाई गर्नु हुदैन । सरकारी निकाय तथा निजी क्षेत्रले स्वदेशमा रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु पर्छ । मानिसलाई बाँच्नका निम्ति गास, बास र कपास अत्यावश्यक बस्तु हुन । यि कुराको जोहो गर्न रोजगारी चाहिन्छ ।

देशमा बेरोजगारको स्थिति भयावह बन्दै गएको छ । रोजगार गुमाएका आम श्रमिकहरूका लागि सरकारले रोजगारको वैकल्पिक उपायखोज्नु पर्ने जरुरी देखिएको छ । जुन देशमा जनशक्तिको अभाव हुन्छ त्यो देशको उत्पादनमा कमी आउँछ ।यसको मुख्य कारण देशमा उत्पादन नहुनु र उत्पादन गर्ने जनशक्ति पलायन हुनु हो । देशमा भएका जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारीका अवसर सृजना गर्नु पर्छ ।

नेपालमा भएका जनशक्तिको सदुपयोग गरेर सरकारले धेरै फाइदा लिन सक्नु पर्दथ्यो । खै त्यतातिर ध्यान दिएको ? अव सरकारले स्वदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा ध्यान दिनु पर्छ । हामीले देखिरहेका छौ, अहिले स्वदेशमा दक्ष जनशक्तिको अभाव छ । यो सत्य कुरा हो । नेपालका बिभिन्न ठाउँमा पर्यटनको ठूलो सम्भावना रहेको छ । त्यसो भएकोले नेपालमा पर्यटकीय स्थल विस्तार गर्ने कुरामा सरकारको ध्यान जानु पर्ने जरुरी देखिन्छ । त्यसैगरि कृषि वा पशुपालनमा युवाहरुलाई आकर्षित गर्ने खालका योजना तर्जुमा गर्नुपर्ने आजको आवश्यकता पनि हो ।

Tags

छुटाउनु भयो कि ?