जीवनसैली

स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

Lumbinikhabar Online

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गर्ने सरकारी अधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)लाई निर्देशन दिएको छ ।

२०७६ चैत १२ गते स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति भनी सार्वजनिक खरिद ऐन र नियमावली विपरीत अधिकार प्रयोग गरेको पाइएको भन्दै समितिले खरिदमा संलग्न पदाधिकारीउपर छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।सार्वजनिक लेखा समितिको ३ पुसमा बसेको बैठकले नोवेल कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गत वर्ष चैतमा ओम्नी बिजनेस कर्पोरेसनसँग गरेको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गरेको थियो । सोही दिन समितिले यो प्रकरणमा विस्तृत छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको थियो ।

५ पुसमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि लेखा समितिले अख्तियारलाई पत्र पठाउन पाएको थिएन । संसद पुनर्स्थापना भएपछि बसेको समिति बैठकले तीन महिनाअघिकै निर्णय कार्यान्वयन गर्न पत्र पठाएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारलाई पत्र लेख्नुअघि सार्वजनिक लेखा समितिले आफैँले अध्ययन गरेको थियो । तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र खरिद कार्यमा संलग्न अन्य पदाधिकारीहरुलाई समेत बोलाएर समितिले छलफल गरेको थियो ।

तर, समिति आफैँले कसैलाई दोषी ठहर नगरी अख्तियारलाई विस्तृत अध्ययन गर्न भनेको हो ।

Tags

छुटाउनु भयो कि ?