बिजनेस

चालु आर्थिक वर्षको पहिलो महिनामा ९२.७१ अर्ब रेमिट्यान्स भित्रियो

Lumbinikhabar Online

चालु आर्थिक वर्षको पहिलो महिनामा कूल रु ९२ अर्ब ७१ करोड बराबरको रेमिट्यान्स मुलुक भित्रिएको छ। नेपाली कामदार रहेका श्रम गन्तव्यमा कोरोनाको सङ्क्रमण जारी रहेको भएपनि विप्रेषण आप्रवाहमा कुनै असर नपरेको हो। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको छ। सरकारले अवैध माध्यमबाट आउने विप्रेषणलाई वैधानिक माध्यमबाट भित्र्याउन लिएका नीति तथा कार्यक्रम क्रमशः प्रभावकारी बन्दै गएको छ । हुण्डीलगायतका अवैध कारोबार रोकिदा बैंकिङ प्रणालीबाट मात्रै विप्रेषण भित्रिएको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह दुई प्रतिशतले बढेको थियो । बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १९ प्रतिशतले घटेको थियो।

यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २० प्रतिशतले वृद्धि भई रु एक खर्ब एक अर्ब ८७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.२ प्रतिशतले मात्रै बढेको थियो।

Tags

छुटाउनु भयो कि ?