मानिसको चहलपहल बढाउने र खस्किएको व्यापार उकास्ने उदेश्यले रंगीचङ्गी छाताहरु राखेर न्युरोड गेटबाट देब्रे लागेपछि मोडिएर संकटा मन्दिर जाने गल्ली सिँगारियो ।
३ हप्ता अगाडी स्थानीयवासी, संकटा क्लब र वडाको सहकार्यमा सडकमाथि छाता टाँग्ने काम भयो । रंगीचङ्गी छाताहरु सडकमाथि टाँगेर सिँगारिएपछि मानिसको चहलपहल एकाएक बाक्लिन थाल्यो । टेबहाल भनिने उक्त गल्लीले एकाएक नयाँ नाम पायो ‘अम्रेला स्ट्रिट’ । तस्बिर खिच्ने, विभिन्न गीतमा टिकटक भिडियो बनाउनेहरु अम्रेला स्ट्रिट घुम्न आउन थाले । आजभन्दा ३ हप्ता अगाडीसम्म सुनसान जस्तै देखियो सो क्षेत्रमा अहिले दैनिक १५ हजारको हाराहारीमा मानिसहरु पुग्ने गरेका छन् । तर, व्यापारले अपेक्षाकृत गति लिन भने नसकेको व्यवसायीहरु बताउँछन् । ‘जुन उदेश्यले यत्रो दुःख गरेर १५० मिटर सडकमाथि छाता राखेर बाटो सिँगारिएको थियो, त्यो उदेश्य पूरा नै भएन’ एक जना कपडा व्यापारी भन्छन्, ‘बेकारमा मान्छेको फोकटको भिड मात्रै बढ्यो ।’
अनावश्यक भिड हुँदा सो क्षेत्रबाट सामान लगेर बिक्रि गर्ने काठमाडौँ उपत्यकाकै अन्य क्षेत्रका व्यापारी भने मर्कामा परेका छन् । मानिसहरु सामान किन्न भन्दा फोटो खिच्न बढी आए, यसले हाम्रो उदेश्य पूरा भएन’ एक जना व्यापारी भन्छन्
मानिसको अस्वभाविक भिड बढेको तर व्यापार भने नफस्टाएको गुनासो आएपछि संकटा क्लबले छाता हटाउने तयारी अगाडी बढाएको छ । मानिसहरुको आवतजावत बढोस् र व्यापार पनि बढोस् भन्ने उदेश्यले ‘अम्रेला स्ट्रिट’ अवधारणा ल्याएको भएपनि परिणाम ठिक उल्टो आएको भन्दै आइतबारबाट छाता हटाउने तयारी थालिएको क्लबका एक पदाधिकारीले भने ।

