उखु किसानको भुक्तानी नदिएर ठगी गरेको आरोपमा रौतहटको मह्मदपुर गुरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकसहित ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
उखु उत्पादक संघसहित किसानहरुले बुधबार जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दायर गरेपछि मिल्सका सञ्चालकसहितविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
४६ जना किसानले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दर्ता गराएपछि जिल्ला अदालत रौतहटले श्रीराम सुगर मिल्सका सञ्चालकसहित ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतका अनुसार श्रीराम सुगर मिल्सका सञ्चालक हितेश गोल्छा, सञ्चालक विशाल अग्रवाल र कार्यकारी उपाध्यक्ष पद्मकान्त झाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अधिकारीहरुले तीनै जनालाई पक्राउ गर्नका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिएका छन् ।
उखु उत्पादक संघ रौतहटका वरिष्ठ उपाध्यक्ष रामप्रमोद यादवका अनुसार श्रीराम सुगर मिल्सले आर्थिक वर्ष २०७१/७२ को १२ करोड, ०७५/७६ को २८ करोड ५० लाख र ०७६/७७ को ५० लाख रुपैयाँ गरी उखु किसानलाई ४१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
किसानलाई करोडौं रुपैयाँ भुक्तानी दिन बाँकी रहेको अवस्थामा सञ्चालकहरुले गत साउन २१ गते एक सूचना टाँस गरेर मिल्स सधैंका लागि बन्द भएको बताएका थिए । त्यसयता मिल्सका सञ्चालकहरु किसानको सम्पर्कमा आएका छैनन् ।
आफूहरुले पाउनुपर्ने भुक्तानी नपाएपछि उखु किसानहरु अहिले आन्दोलनका लागि काठमाडौं आएका छन् । सरकारले गत वर्ष नै उखु किसानलाई भुक्तानी दिलाउन समन्वय गर्ने भनेपनि किसानहरुले यस वर्ष पनि सहज रुपमा भुक्तानी पाएनन् ।
किसानहरुले काठमाडौंमा आन्दोलन शुरु गरेपछि गृह मन्त्रालयले बक्यौता बापतको रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकविरुद्ध ठगीमा कारबाही गर्न जिल्लास्थित प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ ।