बिबिध

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

Lumbinikhabar Online

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले एक विज्ञप्ति जारी गरेर मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पटक-पटक पसिना आएको जनाएको हो ।

शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गरेका छन् ।

प्रशासनले भीमेश्वरको पूजा व्यवस्थापन समितिका पदाधिकारीसँग बैठक गरी राष्ट्रप्रमुख समक्ष प्रसाद पठाउने व्यवस्था मिलाइएको जनाएको छ ।

पूजापाठको प्रसाद बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने व्यवस्था मिलाइएको प्रशासनको विज्ञप्तिमा उल्लेख छ । सो शिलामा पसिना आउँदा राष्ट्र प्रमुखलाई प्रसाद पठाउने प्रचलन रहिआएको छ ।

शिलामा पसिना आएपछि भक्तजनहरूले मन्दिर परिसरमा भेला भएर घण्टी बजाउने, धूप बत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले शिलामा हम्कने लगायत गर्ने गरेका छन् ।

 

भीमेश्वरको शिलामा पानीका कालो थोपा देखिएर झर्ने क्रमलाई पसिना आएको विश्वास गर्ने गरिएको छ ।

 

शिलाको दायाँबाट पसिना आउँदा राजपरिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने किंवदन्ति छ ।

२०७१ सालको माघ १, २ र १५ गते भीमेश्वरको शीलामा पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै देशमा महाविनासकारी भूकम्प गएको थियो ।

Tags

छुटाउनु भयो कि ?