राजनीति

निर्यात व्यवसायी महासंघले चन्द्र ढकाल समुहलाई सघाउने

Lumbinikhabar Online

मंसिर ७ – निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई सहयोग गर्ने भएको छ । निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र सो टीमका वस्तुगततर्फका सदस्यका उम्मेदवारहरुलाई शुभकामना दिँदै सो टीमलाई भोटहालेर खुला रुपमा सहयोग गर्ने उद्घघोष गरेको छ ।

महासंघमा ११ वटा वस्तुगत संघ आवद्ध छन् । स्वागत तथा शुभकामना कार्यक्रममा निर्यात व्यवसायी फिनका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङ्गले महासंघमा वस्तुगत सदस्यहरुको हितका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र उपाध्यक्ष उमेशलाल श्रेष्ठको टीमलाई जिताउनु पर्ने बताए । अहिलेको अवस्थामा सरकारले व्यवसायीको समाधानमा लागि वेवास्ता गरेको भन्दै सरकारसँग छलफल र सहकार्य गरेर आफ्ना समस्या समाधान गराउनका लागि पनि वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले नेतृत्व गरेको उमेशलाल श्रेष्ठको टीमलाई जिताउनुको विकल्प नरहेको गुरुङको दावी छ। सो कार्यक्रममा सबै संघका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो सुरुवाती व्यवसाय नै निर्यात क्षेत्रबाट सुरु गरेको जानकारी दिँदै आफुपनि फिन भित्रैकै एक सदस्यको रुपमा रहेको यस क्षेत्रको विकासका लागि काम गर्ने बताए । ‘म चुनावको क्रममा यहाँ आएर भोट मात्रै माग्ने र पछि वास्ता नगर्ने भन्ने म र मेरो टीमबाट हुँदैन जुन कुराको यहिँ हलबाट प्रतिवद्धता जाहेर गर्दछु,’ ढकालले भने, ‘हाम्रो टीम जितेर गएपछि तपाईहरुले गर्व हुनेगरी काम गरेर देखाउनेछु ।’ साथै व्यवसायिक समस्या पहिचान गरी तत्काल समाधान गर्नका लागि स्केट होल्डर चाहिने भन्दै त्यसका लागि पनि आफ्नो टीमलाई जिताउन उनले आग्रह गरेका थिए । कार्यक्रममा फिनका उपाध्यक्ष एवं सिल्क एशोसिएशनका अध्यक्ष शंकर पाण्डेले महासंघ कमजोर हुँदा सम्पूर्ण निजी क्षेत्र कमजोर हुनेभन्दै निजी क्षेत्र एक भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आफ्नो टीमको विजयीसँगै महासंघले फिनसँग सहकार्य गर्दै निर्यात प्रवद्र्धनमा काम गर्ने बताए । ‘देशको कुल ग्राह्स्थ्य उत्पादनमा ७० प्रतिशत योगदान दिने निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण एकदमै नकारात्मक छ त्यसलाई परिवर्तन गर्नु जरुरी छ,’ उनले भने, ‘हाम्रो धेरै एजेण्डा छैनन्, हामीले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँदै देशको आर्थिक वृद्धिका योगदान पुर्याउने हो ।’ साथै उनले कार्यक्रममा पटक पटक हारेका व्यक्ति अहिले पनि चुनावी मैदानमा रहेको भन्दै आफु सगरमाथा चढ्न हिडेको व्यक्ति अहिले वेशक्याम्पमा पुगेको बताए ।

यसैगरी महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले फिन अन्तरगतका सम्पूर्ण सदस्यहरुले ढकाल प्यानललाई बोलाएर समर्थन गर्नुनै यस टीमको जितको स्पष्ट आधार भएको बताए । कुनै समय देशमा बढी रोजगारी दिई वैदेशिक मुद्रा भित्र्याउँदै देशको आर्थिक वृद्धिमा योगदान दिने निर्यात क्षेत्र रहेको जानकारी दिँदै अबका दिनमा यस क्षेत्रको प्रर्वद्र्धनका लागि चन्द्र ढकाल टीमले काम गर्ने बताए । व्यवसायीलाई समस्या पर्दा सहज रुपमा उपलब्ध हुने व्यक्तिलाई महासंघको नेतृत्वमा पुर्याउनुपर्ने बताउँदै त्यसका लागि चन्द्र ढकाल र उमेशलाल श्रेष्ठको टीम उपयुक्त भएको कुरा राखे । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ , सदस्यहरुमा हेमराज ढकाल, जयप्रसाद शिवाकोटी, आकाश अधिकारी, सुबोध गुप्ता, रविनकुमार श्रेष्ठ, प्रकाससिंह कार्की, कमला श्रेष्ठ, नरेशलाल श्रेष्ठ, सुमितकुमार केडिया, भक्तबहादूर हमाल, सुभाष भण्डारी, हरिबहादूर कार्की, रामकृष्ण श्रेष्ठ र सूर्यबहादूर मगर रहेका छन् ।

Tags

छुटाउनु भयो कि ?