बिबिध

मंसिर २ गते सार्वजनिक बिदा

Lumbinikhabar Online

तिहारमा तिथि विवादसँगै मंसिर २ गते भाइपूजा मनाउने केही नेवाः अभियन्ताहरूको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक बिदा दिइने भएको छ।

स्रोतका अनुसार हिजो उक्त निर्णय मन्त्रिपरिषद्को बैठकबाट भएको हो।

नेवाः अभियन्ताहरूले मंसिर २ गते आफूले भाइपूजा मनाउने भएको बताउँदै उक्त दिन पनि सार्वजनिक बिदाको माग गर्दै एक मन्त्रीमार्फत् प्रस्ताव लगेका थिए।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष कार्तिक २९ गते शनिबार लक्ष्मीपूजा, कार्तिक ३० गते आइतबार गाईगोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते सोमबार गोवद्र्धन पूजा तथा भाइपूजा तोकेको छ।

तर केही नेवाः समुदायले भने कार्तिक २९ गते शनिबार नरक चतुर्दशीकै दिनमा लक्ष्मीपूजा गर्न नहुने र कार्तिक ३० गते सूर्योदयमा औँशी भएकै राति लक्ष्मीपूजा गर्ने परम्पराअनुसार तिहार मनाउँदै छन्। यसअनुसार मंसिर १ गते सोमबार नेपाल संवत् नयाँ वर्ष (न्हुदँ)कै पहिलो दिन पारेर म्हपूजा र मंसिर २ गते मङ्गलबार भाइपूजा गर्दै छन्।

रात्रिमा शुद्ध औँशी काल भएको समयमा लक्ष्मीपूजा गर्ने शास्त्रीय मान्यताअनुरूप नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंसिर २९ गते शनिबार लक्ष्मीपूजा तोकेको हो। शनिबार दिउँसो १ः४९ बजेदेखि आइतबार बिहान ११ः२७ बजेसम्म औँशी तिथि रहने भएकोले सो तिथि रहेको राति नै लक्ष्मीपूजा गर्ने समितिको निर्णय थियो।

Tags

छुटाउनु भयो कि ?