बिबिध

आज घटस्थापना, साइत बिहान ११ः४६ बजे शुभ;जमरा कसरी राख्ने ?

Lumbinikhabar Online

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडा दशैँ आजदेखि शुरु भएको छ ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ : ४६ बजे शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

जमरा कसरी राख्ने  ?
गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको पनि बताईन्छ । यद्यपी, कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य विभिन्न किसीमका अन्न रोप्ने पनि चलन छ ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा हुन्छ ।

महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य एवं महासरस्वतीलाई विद्या तथा वुद्धिको प्रतीकको रुपमा लिइ पूजा गर्ने चलन रही आएको छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।

दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाईन्छ ।

बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ ।

महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत् र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ ।

यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शनार्थीको भीड लाग्छ ।

Tags

छुटाउनु भयो कि ?