बिबिध

भीमफेदी–कुलेखानी सुरुङ मार्गको कार्यालय खुल्यो

Lumbinikhabar Online

बागमती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको पोष्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी-कुलेखानी) आयोजना प्रभावकारी रुपमा सञ्चालनका लागि आयोजना कार्यालयको शुक्रबार स्थापना गरिएको छ।

हेटौँडास्थित हाल रहेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रशासनिक भवनमध्ये तल्लो तल्लामा आयोजना कार्यालयको स्थापना गरिएको हो।

सो आयोजना कार्यालयको शुक्रबार प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले उद्घाटन गरे। बागमती प्रदेश सरकारले निर्माण गर्न लागेको हेटौँडा—काठमाडौं मार्गअन्तर्गत पर्ने भीमफेदीदेखि कुलेखानीसम्ममा निर्माण हुन लागेको पोस्टबहादुर बोगटी सुरुङमार्ग आयोजनाको कार्यालय स्थापना भएको हो।

कार्यालय उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री फुयाँलले प्रदेश सरकार अब सुरुङमार्ग निमार्णमा जुटेको बताउँदै सो आयोजना प्रदेशको मात्र नभई सङ्घीय सरकारको समेत सहयोगमा सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको सुरुङमार्ग तोकिएको समयमै निर्माण सम्पन्न हुने बताए।

तीन दशमलब २१ किलोमिटरका दुई अलगअलग सुरुङमार्ग करिब रु १९ अर्बको लगानीमा करिब साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य छ। तीनवटा पुलसहित दुई सुरुङ जोड्ने एप्रोच सडक निर्माण गरिने जनाइएको छ।

Tags

छुटाउनु भयो कि ?