बिश्व

कम्युनिष्ट पार्टीका सदस्यले अमेरिकामा स्थायी बसोवासको अनुमति नपाउने

Lumbinikhabar Online

अमेरिकाले आफ्नो आप्रवासी नियम परिवर्तन गरेको छ । आप्रवासी नियममा गरिएको नयाँ परिवर्तनसँगै अब कम्युनिष्ट पार्टीका सदस्य वा सोसरहको पदमा रहेकाहरुले अमेरिकाको स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने भएका छन् । गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो घोषणा गरिएको यूएससीआईएसले बताएको छ ।

यसअघि अमेरिकाको संसद्ले पारित गरेको सुरक्षाको नियम अनुसार नै आप्रवासी नियममा परिवर्तन गरिएको हो । यूएससीआईएसले सार्वजनिक गरेको विज्ञप्तिमा कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने उल्लेख गरिएको छ । पछिल्लो समय अमेरिका र चीनको बीचमा तनाव उत्कर्षमा पुगेकाले चीनलाई लक्षित गर्दै अमेरिकाले आफ्नो आप्रवासीको नियममा परिवर्तन गरेको जानकारहरुले बताएका छन् । तर, अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीको नाम भने उल्लेख गरेको छैन ।

Tags

छुटाउनु भयो कि ?