बिबिध

जोर्डनबाट ३२३ नेपाली कम्पनीकै खर्चमा चार्टर्ड विमानमा नेपाल फर्किदैँ

Lumbinikhabar Online

जोर्डनबाट ३२३ नेपाली स्वदेश फर्किने भएका छन्। राजधानी अम्मानस्थित क्लासिक अप्पारेल नामक एक कपडा उद्योगमा कार्यरत ३२३ जना नेपाली कम्पनीकै खर्चमा नेपाल फर्किन लागेका हुन्। इजप्टिको कायोरोस्थित नेपाली दूतावासका राजदूत झविन्द्र प्रसाद अर्यालका अनुसार उनीहरु सोमबार बेलुका जोर्डन एभिएशन एयरलाइन्सको चार्टर्ड जहाजमार्फत स्वदेश फर्किन लागेका हुन्। उनीहरु मंगलबार बिहान १२ः४५ बजे काठमाडौं अवतरण हुनेछन्।

उनीहरु सबै करार अवधिको म्याद सकिएका कामदार हुन्। कोरोना महामारीका कारण उनीहरुले गर्दै आएको रोजगारी पुनः नवीकरण हुन सकेको थिएन। उक्त कम्पनीमा १२ सयभन्दा धरै नेपाली कार्यरत छन्। जोर्डनमा नेपाली दूतावास छैन। जोर्डन मामिला पनि कायोरोस्थित नेपाली दूतावासले हेर्छ। कम्पनीले आफ्नै खर्चमा जहाज उडाएर नेपाल पुर्याइदिने प्रस्ताव गरेपछि दूतावासले त्यसका लागि पहल गरेको थियो। ‘कम्पनीले आफ्नै खर्चमा जहाज चार्टर्ड गर्ने प्रस्ताव गरेको थियो। दूतावासको पहलमा नेपालको आधिकारिक निकायबाट चार्टर्ड उडानको लागि अनुमति प्राप्त भएको छ। सबै प्रक्रिया पुगिसकेको छ। ३२३ जना नेपाली मंगलबार बिहानै नेपाल पुग्नेछन्,’ राजदूत अर्यालले भने।

सोही जहाजमा रोजगारीको क्रममा ज्यान गुमाएका नेपालीको शव समेत पठाइनेछ। लकडाउनका कारण शव पनि उतै रोकिएका थिए।जोर्डनमा करिब १५ हजारको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको राजदूत अर्यालको भनाइ छ। तर, यो आधिकारिक नभई अनुमानित तथ्याङ्क हो। अहिले रोजगारी नवीकरण नभई फर्काउन लागिएका उक्त कपडा उद्योगका कामदारहरुलाई पछि अवस्था सहज भए कार्यसम्पादनका आधारमा पुनः बोलाउन पनि सकिने कम्पनीले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?